५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश सरकारले दिएको विदा उल्लङ्घन, छताछुल्ल प्रदेश र केन्द्र बीचको द्धन्द्ध



बुटवल ।
प्रदेश ५ सरकारले माघीमा प्रदेशको साझा पर्व भन्दै दुई दिन सार्वजनिक बिदा दियो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तर समन्वय परिषद् बैठकमा प्रदेश सरकारले दिने बिदामा संघमातहत रहेका कार्यालय बन्द गर्ने सहमति भएको जानकारी पनि गराउनुभयो ।
तर प्रदेश ५ मा संघ मातहत रहेका अधिकांश सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरुले बिदा मानेनन् । यसले प्रदेशमा रहेका संघ मातहतका कार्यालय र प्रदेश सरकारबीच अधिकारबारे द्वन्द्व देखा परेको छ ।
यसअघि गणतन्त्र दिवसमा पनि प्रदेश सरकारले बिदा दिँदा संघ मातहतका कार्यालयहरु खुलै थिए । मुख्यमन्त्री पोखरेलले नै बिदा कार्यान्वयन हुने जानकारी गराइरहँदा भने संघ मातहतका कार्यालय खुल्नुले प्रदेश र संघमातहतका कार्यालय बीच अधिकार प्रयोगमा द्वन्द्वको संकेत देखिएको छ ।
प्रदेश ५ ले हिजो र आज बिदा घोषणा गरेपनि संघमातहतका कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, अदालत, सरकारी वकिल, निर्वाचन, मालपोत, नापी, हुलाक कार्यालयसहित सुरक्षा निकाय र नेपाल टेलिकममा नियमितजस्तै काम भइरहेको छ । नेपाल बैंक, राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुलै छन् ।
प्रदेश ५ हेर्ने नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट बिदा गर्नु भन्ने पत्र नआएकाले बिदा नगरेको बताउनुभयो । उहाका अनुसार माघ १ र २ गते प्रदेश ५ ले बिदा दिएपनि केन्द्रले बिदा दिनेभन्ने कुनै जानकारी गराएको छैन । राष्ट्र बैंकले बिदा गर्नेबारे कुनै सूचना ननिकालेपछि बैंक तथा वित्तिय संस्थाहरुले बिदा दिएनन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले पनि कार्यालय बन्द गर्ने कुनै जानकारी नआएको बताउनुभयो । ‘हामीहरु त अझै संघमातहत नै छौं–उहाले भन्नुभयो–संघबाट कुनै निर्देशन आएको छैन, निर्देशन नआइ हामी कार्यालय बन्द गर्न सक्दैनौं ।’
प्रदेश सरकारले खुला रहेका संघमातहतका कार्यालयहरुको तथ्यांक संकलन गरिरहेको र त्यसलाई नियमन गर्ने प्रदेश ५ प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ११ : ३४ बजे