५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मनाइयो माघे (मकर) सङ्क्रान्ति



काठमाडौँ ।
पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई मंगलबार माघे (मकर) सङ्क्रान्ति पर्व देशभर मनाइयो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले मंगलबारको दिनलाई मकर सङ्क्रान्ति भनिएको हो । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुन दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।

उत्तरायणका पनि माघ र वैशाख महीना उत्तम मानिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कुनै कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाएका छन् । थारू समुदायले भने मंगलबार वर्षभरका लागि मुखिया एवं नाइके छानेर माघी पर्व मनाए ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वास छ ।

धर्म्सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाइन्छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्तिअनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ । सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलन देशका केही भागमा छ ।

मंगलबार भक्तपुरको तिलमाधव नारायणस्थान, रिडी, देवघाट, त्रिवेणी, दोलालघाट लगायतका तीर्थस्थलमा मेला पनि लागेको थियो । (रासस)

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ११ : २८ बजे