५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रूरू क्षेत्र रिडीमा माघे संक्रान्ति मेला सुरू



गुल्मी ।
नेपालका चारधाम मध्येको एक मानिने रूरू क्षेत्र रिडीमा माघेसंक्रान्ति मेला सुरू भएको छ । पाल्पा, स्याङ्जा र गुल्मीको संगम रिडीमा मेला भर्न श्रद्धालु र व्यापारी आएका छन् । कालीगण्डकीको तट रिडीमा बिहानैदेखि संक्रान्ति नुहाउनेको भीड लागेको छ । भक्तजनहरू लामो लाइन लागेर पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्छन् ।
जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाँको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आउने गर्छन् । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आउने गर्छन् । सोह्रौ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने किवंदन्ती छ ।
कालीगण्डकी नदीमा स्नान गरेर ऋषिकेशवको मूर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वास छ । मणिमुकुन्द सेनले मूर्ति प्रतिस्थापन गरेदेखि नै मन्दिरमा पुजाआजा हुँदै आएको र रुरु क्षेत्रलाई नेपालको चारधाममध्येको एक मानिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले बताए ।
रिडीलाई रूरू कन्याको जन्मस्थल पनि भनिन्छ । भृगुऋषि, और्व ऋषि आदिको तपोभूमिको रुपमा मानिदै आएको अध्यक्ष रेग्मीले जानकारी दिए । यहाँ वैशाख संक्रान्ति, नवदुर्गा, हरिशयनी, हरिबोधनी एकादशी, माघेसंक्रान्ति, औंशीपूर्णिमा र विभिन्न ग्रहण लागेका बेला नुहाउन र दर्शन गर्न भक्तजनहरू आउँछन् ।
प्रत्येक वर्ष हरिबोधनी र हरिसयनी एकादशीमा कालीगण्डकीमा देवऋण, पित्रीऋण र ऋषिऋण तिरिनी भएकाले भक्तहरू बढी मात्रामा यहाँ यस्ता पर्वहरूमा स्नान गर्न आउने गर्छन् ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ७ : ३९ बजे