५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज मकर सङ्क्रान्ति पर्व, थारु समुदायले विषेश के गर्छन ?



मायादेवी अनलाइन, काठमाडौं ।
आज मकर सङ्क्रान्ति पर्व देशभर धुमधमामका साथ मनाइँदैछ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई यो पर्व मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।
सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
यस्तै थारू समुदाय र मगर समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ ।
आफूभन्दा ठूलासँग आशिर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिने गरिन्छ । बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । आज नै दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । सूर्य यसैबीच माघीको अवसरमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेल। सभामुख पूर्ण बहादुर घर्ती लगायतले शुभकामना दिनु भएको छ । यस्तै सांसद विष्णु पन्थी, नेकपा कपिलवस्तु संयोजक झविलाल पोख्रेल, काग्रेश सभापति सुरेन्द्र राज आचार्य लगायतले पनि माघीको अवसरमा शुभकामना दिनु भएको छ ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  २ : ५७ बजे