४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चन्द्रौटा मालपोत कार्यालय पनि अनलाइन सेवामा, विगत भन्दा केही फरक होला ?



माधव बेल्वासे, चन्द्रौटा ।
भूमि सुधार मन्त्रालयले कागजी सेवालाई विस्तार गर्दै मालपोत कार्यालयलाई पनि अनलाइन प्रविधमा लैजान सुरु गरे पछि कपिलवस्तुको चन्द्रौटामा रहेको मालपोत कार्यालय ५० औं शाखाको रुपमा अनलाइन प्रणालीमा गएको छ । केन्द्रबाट सुरु भएको अनलाइन प्रणाली अन्तर्गतको ५० औं शाखाका रुपमा सोमबार मालपोत कार्यालय चन्द्रौटामा अनलाइन सेवा सुरु गरिएको हो ।
कामलाई छिटो छरितो रुपमा सेवाग्रागीलाई सेवा गर्ने लक्ष्य अनुरुप सुरु गरिएको अनलाइन प्रणालीलाई व्यवस्थित गर्न सुरुका केही दिन सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा दिन नसके पनि नागरिकको सम्पती सुरक्षाका दृष्टिले अनलाइन प्रणाली प्रभावकारी हुने भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक भरत गौतमले बताउनुभयो । अनलाइन प्रणालीलाई चुस्त बनाउन बैकल्पिक उर्जा, तिब्र गतिको इन्टरनेट जडान गर्नुपर्ने उहाले बताउनुभयो ।
लेखापढी व्यवसायले पुरानै ढाचाँमा तयार पारेका फारमहरुलाई केही दिन प्रयोग गर्न दिने बताउँदै लेखापढीलाई सर्भिस सेन्टरको रुपमा लैजान व्यवसायीहरुलाई आग्रह गर्नुभयो । अनलाइन प्रणालीमा काम हुने भए पछि डाटाहरु सधैका लागि सुरक्षित हुने हुदाँ भरपर्दो समेत भएको गौतमले उल्लेख गर्नुभयो ।
विश्व प्रविधीमा धेरै अगाडी गई सकेको अवस्थामा नेपालमा भर्खरै मात्रै कार्यालयहरुलाई प्रविधी मैत्री बनाउन लागेको अवस्थामा अनलाइन सेवाले घरदैलोबाटै सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको महानिर्देशक गौतमले बताउनुभयो । अनलाइनमा जग्गा धनिको फोटो तथा औठा छापको रेर्कड केन्द्रमा रहने हुँदा कागजी भन्दा भरपर्दो र सुरक्षित रहेको उहाले प्रष्टाउनुभयो । सेवालाई छिटो छरितो बनाउन प्राणालीलाई संचालन गर्न आवश्यक पर्ने तालिमहरु विभागबाट दिने प्रतिवद्धता गौत्तमले व्यक्त गर्नुभयो ।
अनलाइन सेवा सुभारम्भ गर्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले मालपोत कार्यालयलाई लाग्ने गरेको बेलमलाई अब अनलाइन प्रणालीले सुधार्ने विश्वास व्यक्त गर्नुभयो । कागजी प्रकृयामा काममा हुने ढिला सुस्तीले गर्दा कार्यालयको बढि नै चर्चा सुन्नु परेको उल्लेख गर्दा कर्मचारीलाई सेवाग्राही प्रति उत्तरदायी र सेवा चुस्त बनाउन प्रविधीले सहयोग पुराउने ढृढता व्यक्त गर्नुभयो । “समृद्ध नेपाल सुखी नेपाली” सरकारको अभियानलाई सार्थकता दिन प्रत्येक कार्यालयलाई प्रविधी मैत्री बन्नुपर्ने अधिकारीले उल्लेख गर्नुभयो । मालपोत कार्यालय चन्द्रौटाले पनि अनलाईन प्रणालीमा सेवा सुभारम्भ गरेकोमा खुसी व्यक्त गर्दै सेवालाई पारदर्शी, चुस्त बनाउन आग्रह गर्नुभयो ।
अब किर्ते गरेर जग्गा पास गर्नेहरुको दिन सकिएको उल्लेख गर्दै चालिसेले ढड्डाबाट किर्ते गर्नेहरुलाई अब अनलाइन प्रणालीमा औठा छाप लगाउने वितिकै जग्गा धनि हो होइन पत्ता लाग्ने हुँदा किर्ते गर्नेको दिन सकिएको मालपोल कार्यालय चन्द्रौटाका प्रमुख मालपोत अधिकृत लक्ष्मण प्रसाद चालिसेले बताउनुभयो । जग्गा किनबेच गरेको जानकारी सेवाग्राहीको मोबाइलमा एसएमएस बाट जानकारी हुने हुँदा भरपर्दो रहने उहाले जनाउनुभयो ।
२०७२ श्रावण १० गते स्थापना भएको मालपोत कार्यालय चन्द्रौटा छोटो समयमा नै अनलाइन प्रविधिमा जान सफल भएको हो । २०६६ को मालपोत नियमावली, भू सुचना नियमावली २०७१ अनुसार अनलाइन प्रणालीलाई विस्तार गरिएको कार्यालयका कम्प्युटर अधिकृत हरिशरण थापाले बताउनुभयो ।

सेवाग्राहीको सुचनाको पहुँच, कामको पारदर्शिता, सुचनाको सुरक्षा, राजश्व चुहावट नियन्त्रणमा अनलाइन प्रणाली प्रभावकारी भएको थापाले बताउनुभयो । पुराना कागजी डाटा र श्रेस्ताहरु रहेकोले सबैलाई अनलाइन प्रणालीमा लैजादा सुरुका केही दिन सेवा प्रवाह सुस्त हुने हुँदा सेवाग्राही आत्तिनु नपर्ने र सम्पुर्ण पुराना फाइल अपडेट भइसके पछि भने चुस्त सेवा हुने उहाले जनाउनुभयो ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  २ : ५१ बजे