५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुका मगरहरुले यसरी मनाए ‘माघे सकराती’



मायादेवी अनलाइन, वाणगंगा ।
माघे सकरातीको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति कपिलवस्तुले बोडगाउँमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी मगर अगुवाहरुले मगरजातिको राष्ट्रिय पर्व माघे संक्रान्तिमा नेपाल सरकारले सार्वजनिक विदा नदिएर आफूहरुलाई उपेक्षा गरेको बताएका छन् ।
बिभिन्न धर्म र जातजातीले मनाउने पर्वमा विदा दिने तर आफूहरुको राष्ट्रिय पर्वमा विदा नदिएर सरकारले मगर समुदायको उपेक्षा गरेको आरोप लगाएका हुन् । सोही कार्यक्रममा आदिवासी जनजाती जिल्ला समन्वय परिषदका विमल सारु, नेपाल मगर महिला संघकी केन्द्रिय सदस्य विष्णु राना, नगरअध्यक्ष पिताम्बर सिंजाली, मगर बौद्ध समाजका कन्द्रिय सल्लाहाकार अमर बहादुर मगर लगायतले बोल्दै आगामी बर्षमा सरकारले माघे संक्रन्तिमा बिदा दिनुपर्ने बताउनुभयो ।
यदि सरकारले आफूहरुलाई हेपेको खण्डमा चुप लागेर नबस्ने पनि मगर अगुवाहरुले चेतावनी दिएका छन् । उनीहरुले मगर समुदायका हक अधिकार संरक्षण गर्नको लागि अझ बढी जागरुक हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल मगरसंघ जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष लक्की सारुको अध्यक्षता, नेपाल मगर महिला समाज जिल्ला समन्वय समिति संयोजक लछ्मी शारूको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सचिव मोहन सिंजालीले गर्नु भएको थियो ।
कार्यक्रममा थारु जातिमा रहेका प्रचलित भेषभुषा र खानाका परिकारलाई प्रदर्शनीको रुपमा राखिएको थियो । यस्तै मगर समुदायमा रहेका प्रचलित संस्कृतिलाई गीत र संगितको माध्यमबाट कलाकारहरुले प्रस्तुत गरेर सबैलाई मनोरंजन प्रदान गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  २ : ३४ बजे