५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वाणगंगामा रक्त संचार केन्द्रको भवन शिलन्यास



हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ सिद्धिपुरमा एक समारोहबीच रक्त संचार केन्द्रको भवन शिलन्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी वाणगंगा उपशाखा सिद्धिपुर कपिलवस्तुले रक्त संचार केन्द्र (ब्लड बैंक) भवनको शिलन्यास गरेको हो । भवनको शिलन्यास नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुका सभापति केशव सिंह तथा वाणगंगा नगरप्रमुख मंगल प्रसाद थारुले संयुक्त रुपमा गर्नुभएको थियो ।
कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिले १० धुर जग्गा उपलब्ध गराएपछि भवन शिलन्यासको काम अघि बढेको हो । तत्कालिन सामुदायिक अस्पतालका अध्यक्ष शेर बहादुर क्षेत्रीले यसक्षेत्रमा अस्पताल संचालन गरे लगत्तै रक्त संचार केन्द्र संचालन गर्ने सोच र योजनालाई सवैले साथ दिदै साकार पार्नुपर्ने समाजसेवी शंकर पाण्डेले बताउनुभयो ।
शिलन्यास कार्यक्रमका प्रमुख अतिथी केशव सिंहले रक्त संचार केन्द्रको भवनलाई मन्दिरको रुपमा आफुले हेरेको बताउदै यसले मानव जीवनको रक्षा गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले नेपाल रेडक्रस सोसाइटी मानवीय सेवामा अग्रणी रहेको उल्लेख गर्दै रक्त संचार केन्द्र संचालनमा आएपछि यसक्षेत्रमा रगतको अभावबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो । नेपालमा मात्र ११ लाख सदस्य रहेको नेपाल रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय स्तरमा यसको महत्व अझै धेरै रहेको बताउनुभयो ।
वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले आफ्नो नगरक्षेत्रमा निर्माण गरिने रक्त संचार केन्द्रको भवन निर्माणको कार्यलाई आफुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष रामजी सेन लगाएतले नेपाल रेडक्रस सोसाइटी वाणगंगा शाखाले ब्लड वैंकको भवन शिलन्यास गरेर रक्तदान जीवनदान जस्तो महान कार्यमा महत्वपूर्ण योगदान पूग्ने बताउनुभयो । हाल तौलिहवामा रक्त संचार केन्द्र संचालनमा रहेको र वाणगंगामा शुरु भएपछि २ वटा रक्त संचार केन्द्र संचालन हुने पहिलो जिल्लाको रुपमा रहने बताइएको छ ।
कार्यक्रममा रेडक्रसका जिल्ला सभापति केशव सिंह र रक्त संचार केन्द्र तौलिहवाकी संयोजक साधिका यादवले १० हजार ५ रुपैया भवन निर्माणमा सहयोग गरेका छन् । भवन शिलन्यास कार्यक्रम वाणगंगा उपशाखा सभापति कृष्ण मुरारी ज्ञवालीको अध्यक्षता तथा मन्त्री शंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  ४ : ३२ बजे