५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुमा ‘माघी पर्व’को रौनकता शुरु, ठाउँ ठाउँमा कार्यक्रम आयोजना



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

पछिल्लो समय मुलुकमा थारु जातीको संस्कृति क्रमिक रुपमा लोप हुन लागेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । थारु जातिको महान पर्व माघीको अवसरमा कपिलवस्तुका बाणगंगा, बुद्धभूमि, शिवराज नगरपालिकामा भएका बिभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

‘हम्मनके साँस्कृतिक हम्मनके शान, भुमीपुत्र थारु हमारे पहिचान’ भन्ने मुल नारा सहित आइतबारबाट कपिलवस्तुको शिवराज नगरपालिकामा भएको दोश्रो माघी महोत्सवमा बोल्दै सांसद अभिषेक प्रताप शाहले मुलुकको संस्कृतिक धरोहरको रुपमा थारु जाति रहेका बताउनुभयो । प्रमुख अतिथि शाहले अब थारु संस्कृतिको जगेर्ना गर्ने जिम्मा पनि  अहिलेका थारु युवाहरुमा आएको बताउँदै सबै कस्सिएर लाग्नु पर्ने बताउनु भयो । कपिलवस्तुमा थारु जातिको बाहुल्यता रहेका हुँदा सबैले यसको परम्परा जगेर्नामा ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

यस्तै बुद्धभूमिमा सुरु भएको प्रथम माघी मिलन साँस्कृतिक महोत्सवमा बोल्ने वक्ताहरुले पनि थारु संस्कृति जोगाउने कुरा गरेका छन् । नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि केशव कुमार श्रेष्ठले थारु जातिमा रहेको वेजोड संस्कृतिको प्रारुप पछिल्लो समय कम देखिएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले थारु जातिमा रहेका प्रसिद्ध संस्कृतिहरु झुमरा नाच, धान नाच, मयूर नाच, झर्ररा आदि नाचहरुमा थारु समुदायका युवाको आकर्षण कम रहेकाले थारु संस्कृति लोप हुन लागेको हो कि भन्ने चिन्ता बढेको बताउनुभयो ।

थारु कल्याण कारिणी सभाले गत बर्षमा जिल्लास्तरमा गरेको कार्यक्रम नगरस्तरमा ल्याएको हुनाले थारु संस्कृति जगेर्नामा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख मीरा थारु, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, थारु कल्याण कारिणीका केन्द्रिय सदस्य जंजिर प्रसाद चौधरी, जिल्ला सभापति उमाशंकर चौधरी लगायतले बोल्दै थारु जातिको संस्कृति जगर्नेमा सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

यस्तै आइतबार नै जिल्लाका बाणगंगा नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महोत्सवमा थारु कला सस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातीले खाने परिकारको स्टल, थारु नाच, माघि नाच, मयुर नाचको प्रस्तुती दिएका छन् । यस्तै थारु संस्कृति र  धर्मीक स्थलको चिनारीको रुपमा विभिन्न मठ मन्दिरको फोटो प्रदर्शनी समेत राखीएको छ ।

यस्तै महोत्सवमा राष्ट्रिय थारु कलाकारहरुले समेत प्रस्तुति दिने छन् । थारु चर्चित गायक श्री निवास चौधरी, अन्नु थारु, गायक, सरगाम चौधरी, सिमान्त चौधरी, रमेश मिसन चौधरी, रन्जित चौधरी र उत्तम थारु मोडल सुनिता दहित, समीक्षा चौधरी लगायतको कलाकारहरुले जिल्लाका बिभिन्न सथानमा हुने कार्यक्रममा गएर आफ्नो प्रस्तुति देखाउने छन् भने स्थानीय कलाकारले पनि प्रस्तुति देखाएका छन् । यस्तै महोत्सवमा थारु जातिका स्थानीय प्रचलित परिकार पनि प्रदर्शनीको लागि राखिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  २ : ३७ बजे