९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

थारु संस्कृति जोगाउन भगवानपुरमा माघी मिलन



सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका ९, भगवानपुरमा हुन लागेको माघी मिलन साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ ।

थारु जातिको जातीय संस्कृति, भेषभुषा र हस्तकलालाई संरक्षणका लागि भगवानपुर गाउँ समाज समितिले दोस्रो माघी मिलन महोत्सवको आयोजना गरेको हो । महोत्सव संयोजक रमेश चौधरीले महोत्सवको तयारी पूरा भएको जानकारी दिनुभयो ।

“हम्मन संस्कृति हम्मनके शान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मूल नाराका साथ यहि पौष २९ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सव संयोजक रमेश चौधरीले बताउनुभयो । महोत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहबाट हुने आयोजकले जानकारी दिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा थारु भेषभुषा, पहिरनमा लेहंगा, चोलिया, अंगिया, मंगिया, सुतिया, काठले बनाएको चप्पल (पौवा) को प्रदर्शनी रहने संयोजक चौधरीले बताएउनुभयो । यस्तै थारु परिकारको रुपमा घोंघी, गँगतो, झिंगेमाछा, ढिकरी, परिया, खँरिया लगायतको स्टल रहनेछ । महोत्सवमा ढेंकी, ढकिया, लर्हिया, नुन राख्न बनाएको काठको भाँडो (डोकवा), हेलुका, डिलिया, पखई जस्ता परम्परागत स्तकलाका सामग्रीको अवलोकन गर्ने व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।

महोत्सवमा आउनेलाई भरपूर मनोरञ्जन प्रदान चर्चित थारु गायक श्रीनिवास चौधरी, सुमधुर स्वरकी धनी गायिका समीक्षा चौधरी, अन्नु चौधरी, गायक सिमान्त चौधरी, सरगम चौधरी, उत्तम चौधरी, रमेश मिसन, रन्जित चौधरी र मोडेल सुनिता दहित लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने साँस्कृतिक संयोजक शिवराज थारुले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न क्षेत्रका युवाक्लब, बालक्लब, विद्यालयका विद्यार्थीहरुले समेत आ–आफ्नै भेषभुषा, संस्कृति अनुसारको प्रस्तुति देखाउने व्यवस्था समेत मिलाइएको सांस्कृतिक संयोजक थारुले बताउनुभयो ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  १ : ४८ बजे