९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जीवन परिवर्तनको सेतु तालिम, तिलौराकोटको प्रचार हुन नसक्दा कपिलवस्तु ओझेलमा



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
मानिसको जीवन परिवर्तनमा बिभिन्न समयमा आयोजना हुने उत्प्रेरणात्मक कार्यक्रमहरु कोशेढुङ्गा सावित हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कपिलवस्तु जेसीसले शनिबार पिस हिमालय रिसोर्ट बाणगंगा ठाकुरापुरमा आयोजना गरेको ‘म भित्रको म’ नामक उत्प्रेरणात्मक कार्यक्रममा सहभागी भएर बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

कपिलवस्तु जेसीस बर्ष २०१८ को निमन्त्रणामा आउनु भएका अन्तर्राष्ट्रिय प्रशिक्षक जेसिआई सिनेटर राजेन्द्र बहादुर श्रेष्ठले आफूभित्र रहेको क्षमतालाई चिन्न सक्ने व्यक्ति मात्रै संसारमा सफल बन्न सकेको भन्दै सबैभन्दा पहिले आफ्नो क्ष्मता जुन कुरामा छ त्यसमा कडा मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

विश्वमा बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका महान व्यक्तिहरुको दृष्टान्त प्रस्तुत गर्दै श्रेष्ठले राष्ट्र बदल्नको लागि पहिले आफ्नो सोचमा सकारात्मक परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको थियो । राष्ट्र निर्माता पृथ्वी नारायण शाह, हिटलर लगायतका व्यक्तिहरुमा केही गरौं भन्ने अदम्य, साहस र सपना भएका कारण विश्व हल्लाउन सफल भएकाले सर्वप्रथम व्यक्तिले आफु भित्रको क्षमता चिन्ने र प्रष्फुटन गर्न सक्ने हो भने हरेक क्षेत्रमा अब्बल बन्न सकिने तर्फ श्रेष्ठले जोड दिनुभयो ।

यस क्षेत्रका बिभिन्न पेशा व्यवसाय र संघसंस्थामा आवद्ध रहेका करिब १ सय ५० बढीले सहभागिता जनाएको कार्यक्रममा वडा नं. १ की वडा अध्यक्ष बाल कुमारी पन्त, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, कपिलवस्तु जेसिसका पूर्व अध्यक्षहरु कमल ज्ञवाली, दोलखराम घिमिरे, यज्ञ प्रसाद भट्टराई, जेसीसका वर्तमान अध्यक्ष सुन्दर पाण्डे, प्याब्सन नगर अध्यक्ष रोमाकान्त घिमिरे लगायतले बोल्दै तालिम निकै फलदायी भएको बताउनु भएको थियो ।

जेसी खुमानन्द घिमिरेको संयोजकत्व र जेसी शुशिल पौडेलले संचालन गर्नु भएको कार्यक्रममा जीवन, जगत र सफलताको बारेमा सहभागिले जिज्ञासा राखेका थिए । सहभागिले उठाएका जिज्ञासाको प्रमुख वक्ता राजेन्द्र बहादुर श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

फरक प्रसंगमा बोल्दै कार्यक्रमका प्रमुख बक्ता श्रेष्ठले आफु २० बर्ष पछि आउदा पनि कपिलवस्तुले आशादित उपलब्धी र परिवर्तन हासिल गर्न नसकेको भन्दै तिरौराकोटको महत्वको बारेमा व्यापक प्रचारको आवश्यकता रहेको बताउनुभयो । लुम्बिनी आउने पर्यटकहरुलाई कम्तिमा पनि तिलौराकोट सम्म ल्याउन सकेमा पनि यस क्षेत्रको पर्यटन प्रबर्धन हुने भन्दै यसको लागि छुट्टै योजना बनाएर अगाडी बढ्नुपर्ने कार्यक्रममा सहभागी बक्ताहरुले बताएका छन ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  १ : ४६ बजे