८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलबस्तुमा कृषि अनुसन्धान केन्द्र बन्छ : कृषि मन्त्री खनाल



गीता पौडेल, चन्द्रौटा ।
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेब’ले कृषि अनुसन्धान केन्द्र कपिलस्तुमा बन्ने बताउनुभएको छ । ५ नं. प्रदेशको कृषि अनुसन्धान केन्द्र हाल बाँकेमा रहेकोले सबैलाई पायक नपरेको भन्दै उहाँले त्यहाँ भएकोलाई यथास्थानमा राखी कपिलवस्तुमा नयाँ केन्द्र स्थापना गर्ने बताउनुभयो ।
कृषि अनुसन्धान केन्द्रका लागि कम्तीमा १५० विगाह देखि ३०० विगाह जग्गा आवश्यकता पर्ने हुँदा जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ४ देउपुरा गाउँको सुरई नदीको पश्चिम किनारमा रहेको करिब २५० विगाह जग्गाको शनिबार मन्त्री खनालले अवलोकन गर्नुभएको थियो । नदी उकास क्षेत्रमा रहेको उक्त खाली जमिनको अवलोकन गर्दै कृषि अनुसन्धान केन्द्रका लागि उपयुक्त स्थान भएको बताउनुभयो ।
कपिलबस्तुलाई केन्द्रका हिसाबले हेर्दा ६६.६७ प्रतिशत किसान भएको र जिल्लाका हिसाबले हेर्दा ८५ प्रतिशत किसान भएको जिल्ला भएकाले कपिलबस्तुमा कृषि अनुसन्धान केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।
मन्त्री खनालले कृषि अनुसन्धान परिषद भित्र ७ वटा केन्द्र बनाउने र भइरहेका केन्द्रलाई प्रदेशको कमान्डमा पर्ने गरी राख्ने बनाउने बताउनुभयो । जँहा सेन्टर पर्दैन त्यसलाई सेन्टरमा ल्याउने आफुले कोसिस गरेको उहाँको भनाई छ ।
मन्त्री खनालले करीव २० करोडको लगानीमा ५ हजार मेक्ट्रीक टनको कोल्डस्टोर बनाउने जसका लागि किसानलाई कृषि तर्फ बिभिन्न काम गर्न उत्प्रेरणा गराउनु पर्ने बताउनुभएको छ । सरकारले एक पछि अर्को काम गर्दै गएकाले १ अनुसन्धान केन्द्र कपिलबस्तुमा बनाउनु पर्ने उहाँको भनाई छ ।
यस्तै शिवराज नगर कमिटीको पार्टी कार्यालयमा कार्यकर्ता संग भेटघाट गर्दै उहाले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताउनुभयो । उहाँले सरकार ९ महिने सरकार नभएकोले सय बर्षको सोच, ५० बर्ष योजना र २५ बर्षको कार्यक्रमका साथ अघि बढी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन कुमार के.सि, प्रदेश सदस्य बिष्णु पन्थि, ने.क.पा कपिलबस्तुका प्रस्तावित अध्यक्ष झविलाल पोखरेल, ने.क.पा प्रदेश सदस्य अहमद अब्दुल राउफ लगायत, नेकपा रुपन्देहीका सचिव निर्मल जि.सि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको अध्यक्षता नगर सचिव जगत पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  १ : २८ बजे