५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वाणगंगामा खुल्यो सुविधा सम्पन्न मासु खरिद विक्री केन्द्र, अब मासु ढुक्क संग खान सकिने !



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुको चारनम्बरमा शुक्रबारदेखि अत्याधुनिक बाणगंगा मासु खरिद बिक्री केन्द्र संचालनमा आएको छ । दर्शन बचत तथा क्रण सहकारी संस्थाद्धारा संचालित मासु खरिद बिक्रि केन्द्रको स्थानीय सरकारका प्रमुख मंगल प्रसाद थारुले रिवन काटेर उद्घाटन गर्नु भएको हो । केन्द्रको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका प्रमुख थारुले अब कपिलवस्तुका स्थानीय अस्वस्थकर मासु सेवन गर्ने बाध्यताबाट मुक्त हुने बताउनुभयो ।

करिब ८० लाखको लागतमा सुरु भएको खरिद बिक्रि केन्द्रको अवलोकन गर्दै नगरप्रमुख थारुले मासु काट्नेदेखि स्टोरिङ गर्ने सबै प्रविधि अत्याधुनिक भएकाले यसले अस्वस्थ  मासुसेवनबाट लाग्ने रोगहरुबाट पनि सर्वसाधारण मुक्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कपिलवस्तुमा सुरु भएको मासु विक्री केन्द्र सबैभन्दा सुविधासम्पन्न, अत्याधुनिक र स्वास्थ्यको हिसाबले राम्रो भएकाले सबैलाई त्यहीबाट मासु खरिद गर्न आग्रह गर्दै नगरले सधै सहयोग गर्ने बताउनुभयो ।

बाणगंगा नगरका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले बाणगंगा क्षेत्रको लागि यो नौलो भएको भन्दै मासु खरिद विक्रि केन्द्रले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी सेवा प्रदान गर्ने विश्वास गर्नुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले बुटवल, नारायणघाटमा जस्तै गरी वाणगंगा नगरमा अध्याधुनिक मासु खरिद बिक्रि केन्द्र संचालनमा आउनु सुखद भएको बताउनुभयो । केन्द्रको अवलोकन पछि सहकारीले स्वस्थ र ताजा मासु विक्रि गर्ने गरी व्यवस्था मिलाइएको आफूले पाएको बताउनुभयो ।

सहकारीले अहिले चारनम्बरमा प्रविधीयुक्त पशु बधशाला, कोल्डस्टोर सहितको विक्री केन्द्र आदि निर्माण गरी सेवा सुरु गरिएको केन्द्रका व्यवस्थापक राजेन्द्र विक्रम शाहले जानकारी दिनुभयो ।  सो मासु खरिद बिक्रि केन्द्र संचालनमा आएसंगै स्थानीय पनि खुसी भएका छन् । अब मासु अस्वस्थ मासुसेवनबाट लाग्ने रोगबाट आफूहरु मुक्त हुन सकिनेमा स्थानीय विश्वस्त छन् ।

खरिदविक्रि केन्द्र संचालन गर्नको लागि संस्थाले करिब ३६ लाख र प्याक्टले करिब ३५ लाख लगानी गरेको छ । उपभोक्तालाई सहकारीमा आधारित रहेर स्वस्थ तथा स्वच्छ मासु तथा मासुजन्य पदार्थ विक्रि वितरण गरी आयआर्जनमा वृद्धि गर्ने, स्वस्थ अण्डा तथा मासुको विक्रि गरी स्थानीय बजारमा सस्तो दरमा आपूर्ति गर्ने, सहकारी सदस्यहरुलाई आर्थिक सवृद्धिमा अगाडी लैजान यो कामको थालनी गरिएको सहकारीका अध्यक्ष विदुर बहादुर मल्ल बताउनुभयो ।

कार्यक्रम सहकारीका सचिव कृष्ण बहादुर शाहीको संचालनमा सम्पन्न भएको थियो । विक्री केन्द्रमा विशेष गरी खसी र कुखुराको ताजा र स्वस्थकर मासु पाइने सहकारीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  १ : ४९ बजे