५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मेस्सी बिहीन बार्सिलोना पराजित, लेभान्टेले लियो बदला



एजेन्सी ।
साबिक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा अप्रत्यासित रुपमा पराजित भएको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनालाई लेभान्टेले हराएको हो ।
अवे मैदानमा भएको खेलमा बार्सिलोना २-१ ले पराजित भएको हो । लेभान्टेको जितमा काबाको र मायोरलले गोल गरे । बार्सिलोनाका लागि फिलिप कोन्टिन्होले एक गोल फर्काए ।
घरेलु टोली लेभान्टेले खेलको पहिलो १८ मिनेट भित्रै दुई गोल गरेको थियो । चौथो मिनेटमा काबाको र १८ औँ मिनेटमा मायोरलले गोल गरेका हुन् ।
पहिलो हाफको सुरुतिर २-० ले पछि परेको बार्सिलोनाले खेलको अन्तिम तिर एक गोल फर्काएको हो । ८५ औँ मिनेटमा पाएको पेनाल्टीमा कोन्टिन्होले गोल गरेका हुन् ।
हप्तादिन अघि बार्सिलोनाले ला लिगामा लेभान्टेमाथि ५-० को जित निकालेको थियो । तर कोपा डेल रेमा लेभान्टेले जित निकालेको हो । यो खेलमा स्टार खेलाडी लियोनल मेस्सी र लुइस स्वारेजसहितका केही खेलाडीलाई आरम दिइएको थियो ।
ला लिगामा शानदार जित निकाल्ने क्रममा ह्याट्रिक गरेका मेस्सी नहुनु बार्सिलोनाका लागि घातक बन्यो । दोस्रो लेग आउँदो बिहीबार बार्सिलोनाको मैदानमा हुनेछ ।
बिहीबार राति नै भएका खेलमा सेभिल्लाले एथ्लेटिको बिल्बाओलाई ३-१ ले हरायो भने रियल बेटिस र रियल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ४ : ०१ बजे