५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइदै, नेपालगञ्जमा सार्वजनिक विदा



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन र सार्वजनिक विदाको माग गर्न सरकारमाथि दबाब बढिपनि सरकारले यसवारे जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा ६२÷६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम र शाहप्रतिको सम्मान भने कायमै छ । यसैबीच पृथ्वी नारायण शाहको जन्म दिन र राष्ट्रिय एकता दिवसको अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिनु भएको छ ।
शुभकामनामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको बताएकी छन् ।
पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको सन्देशमा उनले यो देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव थिएन भन्नु भएको छ । यस्तै शुभकामना मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनु भएको छ ।
२९७औँ पृथ्वीजयन्तिका अवसरमा दिएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ ।
यता नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको कार्यपालिकाको बैठकले आज उपमहानगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पृथ्वीजयन्तीको अवसरमा नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत यस उपमहानगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बिदा रहने मेयर धवलशमशेर राणाले बताउनुभयो ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ३ : ४५ बजे