८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

माया होस त यस्तो ! हातखुट्टा गुमाँएका कृष्णलाई श्रीमतीको यति धेरै माया



रुकुम ।
रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका ।ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । त्यतिबेला जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन ।

आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष सानोभेरी गाउँपालिका–९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए । रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले ।

भोलि के हुन्छ कस्लाई पो थाहा छ र रु अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो । तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा र कृष्णको जिन्दगीमा बज्रपात भयो ।

त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ बखरिया भन्ने ठाउँमा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्न कृष्ण पोलमा चढेका थिए । करिब–करिब तार जोड्ने काम सकिएको थिए । एक्कासि आएको ११ हजार भोल्टेजको करेन्टले उनी बेहोस हुँदै जमिनमा पछारिए । विद्युतको झड्काले पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो ।साँझको बेला, विद्युतको लाइन काटेर नै उनी पोलमा चढेका थिए । तर, अर्कैको गल्तीको सिकार भए कृष्ण । नजिकैको मिलवाला साहुले लाइन अन गरिदिएछन्, कृष्णलाई करेन्ट लाग्यो र जमिनमा बजारिए । साथमा सहयोगीहरु पनि थिए । तत्कालै एम्बुलेन्स बोलाएर कोहलपुर मेडिकल कलेज लगियो । उपचार सम्भव भएन, नेपालगञ्ज पुर्‍याइयो । त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगियो ।

त्यतिञ्जेल कृष्णको स्वास त फिर्ता भयो तर शरीर सग्लो नहुने देखियो । १८ दिनको लखनउमा ट्रमा सेन्टरको उपचारले कृष्णको अवस्थामा सुधार आएन । काठमाडौंबाट बेहोसीमै लखनउ पुगेकी उनकी जीवनसंगिनी रुपाले काठमाडौं ल्याइन् ।

कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पतालमा लगिन् । लामो उपचारपछि निको त भए, तर उनका दुवै हात र एउटा खुट्टा काट्नुपर्ने भयो । रुपा जसोतसो सम्हालिने प्रयास गरिन्, कृष्णलाई अजम्बरी साथ दिनलाई गरेको वाचा निभाउँदैछिन्, रुपाको साथले कृष्ण आफ्नो स्वास चलिरहेको बताउँछन् ।अहिले उनीहरु काठमाडौंको कुलेश्वरमा छन् । कृष्णको दुवै हात छैनन्, देब्रे खुट्टा छैन । देबे्र खुट्टालाई तीन पटकसम्म काटियो । रुपाले हारेकी छैैनन्, नेपाली दाजुभाइ दिदी बहिनी आफ्नै हुन् र अप्ठ्यारो मद्धत गर्छन् भन्ने विश्वास बोकेकी छिन् ।

अहिलेसम्म उपचार गर्दा करिब ५० लाख सकियो । रुपा भन्छिन्, ‘अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो ।’ ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भने तर उनलाई थप ५० लाख जुटाउन मुश्किल छ ।

रुपाले जग्गा बेचेर, ऋण काढेर अहिलेसम्मको खर्च जोहो गरिन् । रुपाका अनुसार अझै ५० लाख तिर्न बाँकी छ । कृष्णका दाइ सुशीलले घरको जायजेथा बेचेर भाइको हालसम्मको खर्च जुटाउन सक्रिय रहे । अब परिवारले सम्पूर्ण नेपाली मनहरुलाई हात फैलाएर सहयोगको याचना गरेको छ । सबैको सहयोग पाए कृष्णको शरीरमा इलेक्ट्रोनिक हातखुट्टा जोड्न सम्भव छ ।सानैमा बुवाआमाको मायाबाट अलग रहेका, सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको जोवन अहिले बेडमा सुस्ताएको छ । उनलाई हात र खुट्टा जोड्न सबैले सहयोग गर्न जरुरी छ कि भगवान भनेको मानवीय मनहरु नै हो ।

देश विदेशमा हुने मनकारी दाजुभाइ दिदीबहिनीहरुलाई कृष्णको हातखुट्टा जोड्नको लागि जतिसक्दो आर्थिक सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् ।

तपाईँ हाम्रो सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ३ : ३३ बजे