५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हुलाकी सडक निर्माण तीव्र, ९ किलोमिटर सडक कालोपत्रे



दाङ ।
दाङमा हुलाकी सडक निर्माण कार्यले तीव्रता पाएको छ । लमही–कोइलावास हुलाकी सडक निर्माण कार्य १८ महिना अघिबाट सुरु भएको हो ।
अहिलेसम्म ९ किलोमिटर सडक कालोपत्रे गरिएको र बाँकी २४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न सडक तयार पार्ने काम भइरहेको छ । सडक निर्माण गर्न ९ वटा स्क्याभेटर, तीन सय १७ जना मजदुर दैनिक काममा खटिएका छन् ।
३० किलोमिटर क्षेत्र भित्र सडक निर्माणको काम भइरहेको कालिका कुमार जेभिका साइड ईञ्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘कामले तीव्रता पाएको छ । समयमा काम सक्ने हाम्रो प्रयास छ’ उनले भने ‘पहाड कटिङ्ग गर्ने, सडक कालोपत्रे गर्न सडक तयारीको काम चलिरहेको छ ।’
भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले हुलाकी सडक निर्माण गरिरहेको छ । यो सडकमा ६९ करोड बजेट रहेको छ । २०७६ मंसिरमा सम्पन्न गर्ने लक्ष्य छ ।
सडकमा जमिन परेकाहरुलाई हरेक दिन मुआब्जा वितरण भइरहेको छ । हुलाकी सडक आयोजना कार्यालयले उपलब्ध गराएको मुआब्जा रकम कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत हरेक दिन वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।
‘कागजपत्र सबै तयारी भएकाहरुले हरेक दिन जसो मुआब्जा लगिरहनु भएको छ’ उनले भने ‘जग्गाको मूल्यांकनका आधारमा मुआब्जा वितरण भइरहेको हो ।’ पहिलो चरणमा ३५ करोड रुपैयाँ मुआब्जा वितरण गर्न रकम प्राप्त भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  २ : २४ बजे