५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सामाखुसीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते



काठमाडौं ।
सामाखुसीमा भएको सवारी दुर्घटनामा परी एक पैदलयात्रुको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार १२ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा.१ज ९७६६ नम्बरको माइक्रोबसको ठक्करबाट धुम्बाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे कार्कीले बाटो काट्ने क्रममा माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटाको अवस्था गम्भीर भएको कार्कीले बताए । दुर्घटना गराउने माइक्रोबस र बसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  १ : ४६ बजे