५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विद्यालयमै ‘आटो र ढिँडो’ बनाउन कला सिकाउने नमुना विद्यालय !



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
तपाईलाई अचम्म लाग्न सक्छ कि विद्यालयमा ढिलो, आटो र गुन्दु्रकका परिकार बनाउन सिकाइन्छ भनेर । तर, अचम्म मान्नु पर्दैन, किनकी कपिलवस्तुको वाणगंगा ४ गजेहडामा रहेको वाणगंगा माविले विद्यार्थीहरुलाई विद्यालय हातभित्र यस्तै यस्तै कला सिकाउन शुरु गरेको छ । विद्यालयमा फोहरको रुपमा जम्मा हुने प्लाष्टिकजन्य फोहरबाट सजावटका सामग्री बनाउने देखि नेपाली मौलिक खानाका रुपमा रहेका ढिलो, गुन्द्रुक, आटो, थारु समुदायको प्रचलित परिकार घुँगी लगायत बनाउन विद्यालयले विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको छ ।

विद्यालयलाई अन्र्तराष्ट्रिय स्तरको बनाउनको लागि यसै बर्षबाट सुरु गरिएको आइ एस ए जर्नी परियोजना अन्तर्गत विभिन्न १२ ओटा परियोजना अन्तरगत स्थानीय खाना महोत्सव नाम नै राखेर विद्यालयले विद्यार्थीहरुलाई कला सिकाइरहेको हो । यस्तै दृश्य देखिन्थ्यो पुस २२ गते आइतबार ।

सो दिन विहानै विद्यालयमा जम्मा भएर विद्यार्थीहरुले नेपालका बिभिन्न जातजाती र समुदायमा प्रख्यात मौलिक खानाहरु जस्तै आटो, ढिँडो, रोटी, गुन्द्रुक, माछा, घोँगी तथा सागका परिकार तयार पारेका थिए । यस्तै छिमेकी राष्ट्र भारत, बंगलादेशका स्थानीय खानाका परिकारलाई तयार गरी प्रदर्शनको लागि राखेका थिए ।
विद्यार्थीले तयार पारेका खानाका परिकार चाखेपछि कार्यक्रमका प्रमुख अतिथि बाणगंगाा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले आफू निकै खुसी भएको बताउनु भएको थियो । जिल्लामा पहिलोपटक आफू यस प्रकारको कार्यक्रममा उपस्थित भएको जनाउँदै विद्यालयले निकै राम्रो कामको थालनी गरेको बताउनु भयो । नेपाली मौलिक खानाहरु ढिंडो, आटो र घोँगीलाई विद्यार्थीको सक्रियतामा विद्यालयमा बनाइनु निकै नौलो भएको बताउनुभयो ।

यसैबीच स्थानीय खाना महोत्सवमा सहभागी भएका स्वास्थ्य क्षेत्रसंग संवद्ध वक्ताहरुले विद्यालयमा जंङ फुड नियन्त्रण गर्न सके मात्र विद्यार्थीहरु धेरै रोगबाट बच्न बताएका छन् । महोत्सवमा आयोजना भएको खानामा पोषणको महत्व शीर्षकमा आज भएको प्यानल छलफलमा वक्ताहरुले विद्यार्थीहरुले खाजाको रुपमा चाउचाउ, विस्कुट, दालमोट आदि प्रयोग गर्दा विद्यार्थीहरुमा ७५ प्रतिशत रोगहरु सिर्जना हुने भएकोले त्यसलाई रोक्नु पर्ने बताउनु भएको छ । सि एण्ड सि हस्पिटल ४ नम्बर जितपुरका वरिष्ठ फिजिसिएन डा प्रकाशपुन, सिद्धार्थ क्याम्पसका प्राध्यापकद्धय राजकुमार अर्याल र रोमाकान्त घिमिरेले छलफलमा सहभागी हुँदै स्वास्थ्य सम्बन्धि जानकारी दिनु भएको थियो । कार्यक्रममा घिमिरेले पोषण र खानपान सम्बन्धि विषय उठान गर्नुभएको थियो भने डा. पुन र अर्यालले विद्यार्थीले उठाएका जिज्ञासा र स्वास्थ्य सम्बन्धि जानकारी दिनुभएको थियो ।


उहाँहरुले गोठदेखि उत्पादन भएका खानेकुराहरु ओठसम्म पुर्याउँदा स्वास्थ्यका दृष्टिले निकै सचेतता अपनाउनु पर्ने बताउनु भयो । अभिभावकले विद्यार्थीलाई स्कुल पठाउँदा खाजाको रुपमा भिजाएको चना, भुटेको मकै,, भुटेको चिउरा आदि बनाएर पठाउन आग्रह गर्नुभयो । साथै खानामा सबै भिटामिन र पौष्टिकतत्व पुग्ने गरी तयार पार्नु पर्ने बताउनुभयो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारी लगायतले बोल्नु भएको थियो भने स्थानीय सरकारका प्रतिनिधि, संचारकर्मी आदिको सहभागिता थियो । परियोजना अन्तर्गत शनिबार पनि फोहरलाई मोहरमा रुपान्तरण गर्ने विधिको बारेमा सिकाइएको थियो । खाना महोत्सवमा स्थानीय सरकारका प्रतिनिधि इन्दिरा पन्त, महिला नेत्रृ इन्दिरा भट्टराई, सुद्धोधन गाउँपालिकाका स्रोत व्यक्ति टिकाराम पौडेल, पूर्व शिक्षक शिवलाल पौडेल, सञ्चार उद्यमी कृष्ण भट्टराई लगायतको उपस्थिती थियो ।


देशभरका सिमित विद्यालयले मात्र यस्तो परियोजना सञ्चालनको अवसर पाउने भएकाले व्रिटिस काउन्सिलले दिएको अवसरलाई अधिकतम सदुपयोग गरी विद्यालयलाई आइ एस मान्यता दिलाउन अरु थुप्रै काम गर्न बाँकी रहेको विद्यालयका प्राचार्य भण्डारीले बताउनुभयो । कार्यक्रमको संचालन आइएस कोर्डिनेटर गोविन्द पोख्रेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ३ : ४५ बजे