५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रदेश ५ : सवारी साधनमा व्यापक आर्थिक अनियमिता



बुटबल ।
प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका सवारी साधनमा व्यापक आर्थिक अनियमिता भएको पाइएको छ । प्रदेश ५ प्रदेशसभा सचिवालयले भारतीय गाडी निर्माता टाटा कम्पनीका १३ र अन्य तीन वटा सवारी साधन केही दिनअगाडि खरिद गरेको छ ।
नेकपाका कार्यकर्तासमेत रहेका उनले उक्त गाडी खरिदमा ठूलै आर्थिक चलखेल भएको दाबी गरे । ‘निजी प्रयोग गर्ने भए कसैले पनि खरिद गर्दैन थिए होला, सरकारी धनले खरिद गरेका कारण जस्तो भए पनि खरिद गरे,’ उनले भने ।
प्रदेश सचिवालयले ती सवारी साधन बुटवलको सफल अटो इन्टरनेशनलबाट खरिद गरेको हो। प्रदेश ५ प्रदेशसभा सचिवालयले गत भदौ २६ गते विभिन्न प्रकृतिका १४ वटा सवारी साधनका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो । सचिवालयले प्रकाशन गरेको सूचनामा सवारी साधन ४ ह्विल ड्राइभ भएको हुनुपर्ने उल्लेख गरिए पनि गाडीको स्तर भने उल्लेख गरिएको छैन ।
सचिवालयले १४ वटा गाडी खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै नेकपाभित्र आलोचनासमेत सुरू भएको छ । सेतोपाटी डटकममा भगवती पाण्डेले समाचार लेख्नुभएको छ ।
प्रदेशसभा सचिवालयले उक्त गाडीहरू मध्ये ११ वटा गाडी प्रति गाडी ७१ लाख ९४ हजार ९ सय ९९ का दरले किनेको छ । ११ गाडी किन्न ७ करोड ९१ लाख ४४ हजार ९ सय ९९ रूपैयाँ खर्च भएको छ ।
त्यसमध्ये ५५ हजार बराबरको एकवर्षको बीमा सुविधासमेत कम्पनीले दिने गरेको छ । सचिवालयले खरिद गरेको एउटै गाडीको मूल्य सर्वसाधारणले खरिद गर्नेभन्दा ३ लाख ३९ हजार ९ सय ९९ बढी देखाइएको छ । त्योसँगै सचिवालयले खरिद गरेका गाडीको बीमावापत् लाग्ने प्रतिगाडी ५५ हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने जनाएको छ । सर्वसाधारणले खरिद गर्ने गाडीको उक्त बीमा सुविधासमेत कम्पनीले उपलब्ध गराउने गरेको छ ।
व्यक्तिले एउटामात्र सवारी साधन किन्दा सामान्यतया प्रति सवारी साधन ५ लाख रुपैयाँ छुट दिने गरेको छ भने सरकारी बजेटबाट ११ वटा सवारी साधन खरिद गर्दा सरकारी खातामा छुट लिने तर्फ किन ध्यान दिइएन? भन्ने प्रश्न उठेको छ ।
बुटवलमा टाटाको आधिकारीक बिक्रेता सफल अटोले कम्पनीले तोकेको मूल्यमा ५ लाख छुट गरी ६८ लाख ५५ हजार मूल्यमा गाडी उपलब्ध गराउने गरेको कोटेसन सेतोपाटीले प्राप्त गरेको छ । यसले पनि प्रदेश ५ प्रदेशसभा सचिवालयले गाडी खरिदमा ठूलै अनियमितता गरेको प्रष्ट हुन्छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनले अन्यत्र गाडीको मूल्य नसोधी इ विडिङमार्फत गाडी खरिद गरिएकोले महंगो परेको हुनसक्ने प्रतिकृया दिए । ‘हामीले बजारमा गाडीको मूल्य कति छ भनेर बुझिएन सार्वजनिक खरिद अनुगमन कार्यालयको विधि अनुरूप इविडिङमार्फत गाडी खरिद गरेका हौं,’ पुनले सेतोपाटीसँग भने।
अधिकांश पहाडी जिल्लाहरूमा समेत जानु पर्ने भएकोले बलियो गाडि किन्नु पर्ने सुझावलाई लत्याउँदै प्रदेश ५ सरकारका मन्त्रीका लागि समेत टाटा स्ट्रोम गाडी नै खरिद गरिएको छ ।

म्याद सकिएको समितिका संयोजकलाई पनि गाडी

प्रदेशसभा सचिवालयका लागि भनेर खरिद गरिएका गाडीमध्ये कानुन र कार्य्विधिले म्याद सकिए पनि सर्वसम्मतिका नाममा म्याद बढाइएका समितिका संयोजक दीपेन्द्र पुन मगरलाई समेत गाडी दिइएको छ ।
उनले पटक पटक आफूलाई गाडी चाहियो भन्दै सचिवालयमा दबाब दिनपछि गाडी दिइएको हो । उनलाई लु १ झ ४५२ नम्बरको महिन्द्रा पिकअप गाडी दिइएको छ। पछि थप गरिएको उक्त समितिको म्यादसमेत सकिन लागेको छ ।
नेकपाका मुख्य सचेतक भूमिश्वर ढकाल लु १ झ ४५६, विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले लु १ झ ४४७, सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेले लु १ झ.४४५ नम्बरको टाटा गाडी चढ्दै आएका छन् ।
यस्तै प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्माले लु १ झ ४४० नम्बरको टाटा गाडी चढेका छन् । सार्वजनिक लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले लु १ झ ४४१ नम्बरको गाडी पाएका छन् ।
अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने शर्माले लु १ झ ४४९ नम्वरको गाडी पाएका छन् भने प्रतिपक्ष दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले लु १ झ ४४३ नं. को गाडी पाएका छन् ।
यस्तै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले लु १ झ ४४२, भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले लु १ झ ४४६ नम्बरको गाडी चढेका छन् ।
बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले लु १ झ ४४८ पाएका छन् भने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लु १ झ ४६७ नम्बरको निसान गाडी चढेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  २ : ३१ बजे