५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रचण्ड भन्छन्, घमण्ड नत्यागे कम्युनिस्ट आन्दोलन क्षण भरमै अन्त्य हुन्छ



बुटवल ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमिकमजोरी माथि आत्मालोचना गर्दै पार्टी र सरकारअघि बढ्नुपर्ने बताउनुभएको छ ।

घमण्ड त्यागेर अघि नबढे कम्युनिस्ट आन्दोलन क्षणभरमै अन्त्य हुने उहाको भनाइ छ । ‘दुई पार्टीको एकतापछि बनेको सरकार र पार्टीमा घमण्ड त्याग्ने र कमिकमजोरीमाथि आत्मआलोचना गर्ने क्षमता हुनुपर्छ’, प्रचण्डले भन्नुभयो ।

वाइडबडी विमान खरिदलगायतका विषयतर्फ इंगित गर्दै प्रचण्डले कमजोरीमाथि आत्मलोचना गर्दै अघि बढ्दा जनताको विश्वास कायम रहिराख्ने बताउनुभयो ।

बुटवलमा आज लोक अभियान नामक पाक्षिक पत्रिकाको लोकार्पण गर्दै प्रचण्डले विश्वको ध्यान तानेको पार्टीलाई जनपक्षीय काममा बलियो बनाएर लैजानुपर्ने आवश्यकता संगै कमजोरीको आत्मआलोचना समेत गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सोभियत संघसँगै युरोपियन मुलकका सत्ता पार्टी कमजोरी स्वीकार नगर्ने र जनपक्षीय काम नगरेकै कारण दर्दनाक तरिकाले पतन भएको स्मरण गर्दै उहाले सचेत भएर काम गर्ने बेला आएको बताउनुभयो ।

लुम्बिनी क्षेत्र २५ सय वर्षअघिकै राजतन्त्रात्मक क्षेत्र भएको स्थानबाट बोल्दै गर्दा अहिलेको गणतन्त्रसम्म आउनु महत्वपूर्ण उपलब्धी भएको उहाको जिकिर छ । प्रचण्डले आइतबार नै बुटवलमा नेकपाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको रणनीति अनुरुप अघि बढ्न निर्देशन दिनुभयो ।

विचार र नेतृत्वलाई मिलाएर अघि बढ्दा मात्रै पार्टी बलियो हुने उनको भनाइ छ । सो अवसरमा पार्टीको स्थानीय नेतृत्वको जिम्मेवारीप्रति असन्तुष्ट पक्षले प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएको छ । रुपन्देहीका जिल्ला तहसहित पालिका स्तरको नेतृत्वमा सहमति कायम हुन सकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : २८ बजे