५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

फ्रान्सका विदेश सचिव नेपाल आउँदै



काठमाडौं ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरी मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते काठमाडौं आउनुहुने भएको छ ।
परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ ।
बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचारविमर्श हुने सचिव वैरागीले जानकारी दिनुभयो ।
नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने उहाँले बताउनुभयो ।
बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ । यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ६ : ४२ बजे