५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

विद्यार्थीको अचम्मको काइदा, फोहरलाई मोहरमा यसरी रुपान्तरण गरे



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको बाणगंगा मावि गजेहडाका विद्यार्थीहरुले फोहरलाई मोहरमा रुपान्तरण गर्न थालेका छन् । मुख्य गरी विद्यालय हाताभित्र उत्पादन भएका नसड्ने प्लाष्टिक जन्य फोहरहरुबाट फूलदानी, ढकिया, चकटी लगायतका सजावटका आदि सामाग्री बनाएर विद्यार्थीहरुले त्यसलाई आय आर्जनको माध्यम बनाउन थालेका हुन् । विद्यालयलाई अन्र्तराष्ट्रिय स्तरको बनाउनको लागि यसै बर्षबाट अवलम्बन गरिएको आइ एस ए जर्नी परियोजना अन्तर्गत फोहरलाई मोहरमा रुपान्तरण गर्ने विधि सिकाइ सकिएपछि विद्यार्थीहरु त्यसको लागि कस्सिएर लागेका हुन् ।

त्यसको लागि विद्यालयले सड्ने, नसड्ने  र अन्य फोहर राख्नको लागि छुट्टाछुट्टै डस्टविनको व्यवस्था गरेको छ । डस्टविनमा जम्मा भएको फोहरलाई विद्यार्थीहरुले पहिला धोइपखाली गर्छन् । त्यसपछि आवश्यक काँट छाँट गरी ती विद्यार्थीहरुले आकर्षक रुपमा फूलदानी, ढकिया, चकटी आदि सामाग्री बनाउने गर्दछन् ।

यसरी तयार भएका सामाग्रीलाई विद्यालय र घरमा सजावटका सामाग्रीको रुपमा राख्न सकिने र बेचबिखन गरेर आम्दानी गर्न सकिने विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले बताउनु भयो । उहाँले सम्पन्न गर्नु पर्ने १२ वटा कार्यमध्ये फोहर मैल व्यवस्थापन गर्न यो काम गरिएको बताउनुभयो ।

देशभरका सिमित विद्यालयले मात्र यस्तो परियोजना सञ्चालनको अवसर पाउने भएकाले व्रिटिस काउन्सिलले दिएको  अवसरलाई अधिकतम सदुपयोग गरी विद्यालयलाई आइ एस मान्यता दिलाउन अरु थुप्रै काम गर्न बाँकी रहेको विद्यालयले जनाएको छ ।

यस प्रकारको सिकाई यस क्षेत्रमै पहिलो पटक भएकाले यसले विद्यार्थीको शिक्षण सिकाईलाई पनि प्रभावकारी बनाउन सहयोग पुगेको आइस ए कोर्डिनेटर गोविन्द पोख्रेलले बताउनु भयो ।

आइएस परियोजना अन्तर्गत नै  विद्यालयले भोली अन्तर्राष्ट्रिय फुड फेस्टिभल पनि आयोजना गरेको छ । आइतबार विहान हुने फुड फेस्टिभलमा नेपाल भारत बंगलादेश लगायतमा तयार पारिने बिभिन्न प्रचलित खानाका खानाका परिकार बनाइने आइ एस ए कोर्डिनेटर पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ४ : ३३ बजे