५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

भूपू सैनिकद्वारा जेष्ठ नागरिक सम्मान र खेलकूद सामग्री वितरण



सीताराम चौधरी, कपिलवस्तु ।
नेपाल भूतपूर्व सैनिक कल्याणकारी कोष समिति शिवपुरले क्लब र विद्यालयलाई खेलकूद सामग्री वितरण गरेको छ । जिल्लाको पश्चिमी भेगमा रहेका खेलकूदको क्षेत्रमा क्रियाशील दुई विद्यालयसहित समुदायका गरी कूल १५ वटा क्लबलाई भलिबल र नेट वितरण गरिएको थियो । साथै संगठनमा आबद्ध ८ जना जेष्ठ भूपू सैनिकलाई दोसल्ला ओढाई सम्मान गरेको छ ।
जिल्लाको शिवराज नगरपालिका १, शिवपुरमा गठित भूपू सैनिकहरुको संगठनले एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेको हो । जिल्लाका पश्चिमी भेगका विद्यालयका बालबालिका र क्लबमा आबद्ध युवाहरुलाई खेलकूदप्रति जागरुक गराउन सामग्री वितरण गरेको भूपू सैनिक कल्याणकारी कोष समितिका अध्यक्ष धनबहादुर के.सी.ले जानकारी दिनुभयो ।
भूपू सैनिक संगठनको पहिचान बढाउन पछिल्लो समय भूपू सैनिक संगठन सामाजिक क्षेत्रमा अग्रसर भएको अध्यक्ष के.सी.को भनाई छ । आगामी दिनमा समेत समाज विकासमा हातेमालो गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सैनिक संगठनका संस्थापक अध्यक्ष भरतबहादुर पुनले आफूहरु पनि समाजको अभिन्न अंग भएकाले हातेमालो गरी अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सैनिक संगठनका संस्थापक जयबल्लभ भट्टराईले संगठनको जन्म आफूहरुले दिएपनि अहिलेको पदाधिकारीले यसलाई अगाडि बढाउन अहम भूमिका खेलेकोमा प्रशंसा व्यक्त गर्नुभयो । साथै आफूहरु एकजुट भई समाजको हितका लागि काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष जगतबहादुर जिसी, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेल, समाजसेवी भवनराज पौडेल लगायतले विगतदेखि नै सैनिक संगठनले विभिन्न क्षेत्रबाट सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको औल्याएका थिए ।
साथै संगठनलाई क्रियाशील बनाउँदै आगामी दिनमा यस क्षेत्रको शैक्षिक एवं सामाजिक विकासमा विशेष चासो देखाउनुपर्ने जिकिर गरेका थिए ।
सैनिक संगठनका अध्यक्ष धनबहादुर के.सी.को अध्यक्षता, संस्थापक अध्यक्ष भरतबहादुर पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रम चेतबहादुर भण्डारीको स्वागत र चुमानसिंह रोकाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  १ : ४३ बजे