५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पाल्पामा ६ पक्की पुल बन्दै



पाल्पा ।
सडक डिभिजन कार्यालय पाल्पा अन्तर्गत जिल्लामा चालु आर्थिक वर्षमा छ वटा पक्की पुलको निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट र निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हुँदैछ ।
जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाऊखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणको कार्य बढाइएको छ । पाल्पाको रामपुर नगरपालिका ६ र स्याङजाको चापाकोट नगरपालिका वडा नं ७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म करीब ८५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ भने बाँकी काम फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो पुल जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले बनाइरहेको छ । पुलको शिलान्यास २०७२ फागुन १६ गते भएको थियो ।
सम्झौता मितिमै निर्माण कार्य सम्पन्न गर्न कामलाई तीव्र गतिमा अघि बढाइएको पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
एक सय ७४ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु पन्ध्र करोड ११ लाखको लागतमा निर्माण कार्य सुरु भएको हो । निर्माण कम्पनीका प्रतिनिधि एवम् चापाकोट नगरपालिका ७ का अध्यक्ष एकदेव भट्टराईका अनुसार पाल्पाको भागमा पुल निर्माणको काम सबै सकिएको छ र स्याङजातर्फको भागमा भने नदी थुनेर धमाधम कामलाई अघि बढाइएको छ ।
त्यस्तै, रामपुर नगरपालिका ८ र चापाकोट नगरपालिका ९ जोड्ने निर्दिमघाटमा भ्याटबाहेक रु १२ करोड ५३ लाखको लागतमा पुल निर्माण कार्य भइरहेको छ । कन्काई नेपाल प्रगति मिलेनियम जेभी कम्पनीले २०६८ असार ३० गते सम्झौता गर्दा तीन वर्ष्भित्र काम सम्पन्न लक्ष्य तोकेको थियो । कुल १५० मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको पुलको पाल्पा जिल्लाको भागमा अहिले काम भइरहेको र हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार स्याङजातर्फको भागमा डिजाइन परिवर्तन गर्नुपर्दा काममा ढिलाइ भएको हो । नयाँ डिजाइन स्वीकृतिका लागि विभागमा पेश गरिसकिएको छ ।
गतवर्ष पाल्पाको रम्भा गाउँपालिका १ हुँगी र स्याङजाको गल्याङ्ग नगरपालिका ११ जोड्ने कालीगण्डकीको हुँगीघाटमा पक्की पुल निर्माण सम्पन्न भई अहिले सञ्चालनमा आइसकेको छ । एलिट एस बिए जेभी कम्पनीमार्फत १८० मिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको सो पुल पन्ध्र करोड तीन लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । (रासस)

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : ५० बजे