५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको खुलासा



परासी ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।

उनका श्रीमान् सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

यस्तै पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । (रासस)

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : ४७ बजे