५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

भारतीय ‘अण्डा’ को आयात रोक्न नेपाल अण्डा उत्पादक सङ्घले निगरानी बढायो



चितवन ।
भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ ।

सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् ।

सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको छ । कानुनी रुपमा हवाई मार्गबाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको कँडेलले बताउनुभयो । यद्यपि लुकीछिपी सीमाका बजारमा अण्डा आउन थालेपछि केन्द्रीय समितिले नियमित अनुगमन गरिरहेको कँडेलले बताउनुभयो ।केन्द्रीय समितिले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन आग्रह गरेको उहाँले बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलका अनुसार बर्दघाट, भैरहवा, परासी, महेशपुर, वीरगञ्ज, जनकपुर, सिराहालगायत क्षेत्रमा नियमित अनुगमन भइरहेको छ । देशका अन्य सीमा क्षेत्रका बजारमा पनि भारतीय अण्डा भित्रन नदिन सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी, व्यवसायी र कृषकलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रेट ३६५ रुपैयाँसम्म पुगेको अण्डाको फार्म मूल्य घटेर हाल २७० रुपैयाँमा कारोबार भइरहेको पोखरेलले बताउनुभयो । दुई वर्षअघि अण्डाको प्रतिक्रेट मूल्य ३६५ रुपैयाँ रहेको थियो । उहाँका अनुसार देशभरमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । जसमध्ये आधा चितवनमा उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ६ : ४१ बजे