६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

किन किसानले समयमा मलखाद पाउँदैनन ? प्रदेश सांसदले गराए सरकारको ध्यानाकर्षण ?



रुपन्देही ।
कृषि उत्पादन बढाउन किसानलाई समयमै मलखाद उपलब्ध गराउने वातावरण सिर्जना गर्न प्रदेश नं ५ का प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं ५ मा मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदले खेती गर्ने समयमा मल अभाव हँुदा कृषिजन्य वस्तुको उत्पादनमा कमी हुने भएकाले सहज, सरल र सुलभ मूल्यमा उपलब्ध गराउन माग गरेका थिए ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमा भएको सैद्धान्ति छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य फकरुद्दिन खानले कृषि उत्पादन बढाउन किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो ।
प्रदेशसभा सदस्य खड्गबहादुर खत्रीले मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वागतयोग्य रहेको भन्दै यो ऐनपछि अनुदानको मल बेचेर खाने प्रक्रियाको अन्त्य हुने बताउनुभयो । मलको कृत्रिम अभाव सिर्जना हुने गरेका कारण किसानले समयमा मल नपाएको र यस्तो अवस्था अन्त्य गर्नका लागि ऐन जरुरी भएको बताउनुभयो ।
विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पुष्पा थरुनी र फौजीया खातुनले खेती लगाउने समयमा मल नपाएका कारण किसानले धेरै समस्या खेप्नुपरेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । बैठकमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मलखाद वितरणलाई सहज बनाउन विधेयक ल्याइएको बताउनुभयो ।
यस्तै आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको अनुपस्थितिमा कुलप्रसाद केसीले प्रदेश नं ५ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  १२ : ३६ बजे