६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

शिक्षकले विद्यार्थी कुटेर घाइते बनाएको अभिभावकको आरोप



सल्यान ।
सल्यानमा एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएको अभिभावकले आरोप लगाएका छन् ।
सलयनको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विशाल बस्नेतलाई शिक्षकले कुटेर घाइते बनाएको वस्नेतका परिवारले आरोप लगाएका हुन् ।
बुधबार दिउँसो १२ बजेतिर विद्यालयको प्राङ्गनमा वस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेको विद्यार्थीका बुबा तेजबहादुर बस्नेतले बताउनुभयो ।
शिक्षकको कुटाइबाट बेहोस भएका छोरालाई श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार गरेपछि होस खुलेको छात्रका बुवा बस्नेतले बताउनुभयो । शिक्षकको कुटाइबाट आफ्नो पेट, टाउको, र छातीमा चोट लागेको विद्यार्थी बस्नेतले बताउनुभयो ।
घाइते विद्यार्थीको टाउकोमा चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । विद्यालयले भने शिक्षकले विद्यार्थीलाई कुटेर घाइते भएको आरोप निराधार भएको दाबी गरेको छ ।
प्रधानाध्यापक पूर्ण भण्डारीले विद्यालयमा दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको बुझिएको बताउनुभयो । तर नियतबस भने विद्यार्थीलाई कुनै पनि शिक्षकले हातपात नगरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ८ : २९ बजे