६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

रेशम चौधरीले आज सांसदको सपथ लिँदै



काठमाडौं ।
कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् ।
कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।
सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । चौधरीलाई बिहान साढे ११ बजे सपथ गराउने कार्यक्रम तय गरिएको थियो तर कारागारबाट लैजान समय लाग्ने भएको भन्दै दिउँसो ३ बजेलाई सारिएको छ ।
चौधरी सपथ ग्रहणपछि कारागार नै चलान हुनेछन् । चौधरीको दल राजपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चौधरीको सपथ गराउन दबाब दिइरहेको थियो ।
‘प्रतिनिधिसभा नियमावली २०७५’ को नियम २४४ को उपनियम ३ अनुसार नैतिक पतन देखिने फैजदारी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सदस्यले सांसदको हैसियतमा कुनै पनि काम गर्न नपाउने उल्लेख गरिएको छ । त्यस्तै उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म र कैदमा बसेको अवस्थासम्म सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ ।
प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ७ : ५२ बजे