६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सिद्धार्थ क्याम्पसलाई गरिमामय क्याम्पसको रुपमा विकास गर्नु पर्नेमा सरोकारावालाको जोड



कपिलवस्तु ।
कपिलवस्तुको गरिमाको रुपमा रहेको बाणगंगा बुङ्ची स्थित सिद्धार्थ क्याम्पसलाई यस क्षेत्रकै गरिमामय क्याम्पसको रुपमा विकास गर्नु पर्नेमा सरोकारावालाले जोड दिएका छन् । क्याम्पसले हिजो बुधबार सम्पन्न गरेको नवौ क्याम्पस सभाको अवसरमा बोल्ने वक्ताहरुले क्याम्पसलाई आंगिक रुपमा स्तरनोन्न्तति गरेर यस क्षेत्रकै गरिमामय क्याम्पसको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले सिद्धार्थ क्याम्पसलाई जिल्लाकै मात्र नभएर प्रदेश ५ कै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्नु पर्ने बताउनुभयो । यस क्षेत्रमा परिचालित जनशक्तिको कुरा गर्दा अधिकांस जनशक्ति सिद्धार्थ क्याम्पसकै उत्पादन रहेको भन्दै यसलाई थप समयसापेक्ष बनाउन आवश्यक रहेकोेमा सांसद पन्थीले जोड दिनुभयो ।
प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन क्याम्पसमा प्रशस्तै सम्भावना रहेको जिकिर गर्दै पन्थीले यसलाई प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा पूर्व सांसद डोर प्रसाद उपाध्यायले यस क्षेत्रको शैक्षिक जनशक्तिलाई थेग्ने काम सिद्धार्थ क्याम्पसले गरेको भन्दै आगामी दिनमा क्याम्पसले गुणात्मक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले यहाँको शैक्षिक विकासमा सिद्धार्थ क्याम्पसले ठुलो भूमिका खेलेको भन्दै क्याम्पसलाई थप गुणस्तरीय बनाउनु पर्ने बताउनुभयो ।
क्याम्पसका अध्यक्ष झविलाल पोख्रेलले आगामी दिनमा क्याम्पस थप स्तर उन्नति भई पश्चिम क्षेत्रकै धरोहर बन्ने दाबी गर्नु भयो । क्याम्पसले आगामी दिनमा गुणात्मक शिक्षाको लागि कुनै कसर बाँकी नराख्ने भन्दै सबैलाई दत्त चित्त भएर लाग्नु पर्ने बताउनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, उपप्रध्यापक गोविन्द खनालको संचालन तथा क्याम्पसका उपाध्यक्ष रवी बहादुर काफ्लेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवालीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
२०४८ सालमा स्थापित सिद्धार्थ क्याम्पस पठनपाठनका हिसाबले जिल्लामा अग्रणी शैक्षिक संस्था हो । मुलुकका राष्ट्रिय प्रतिस्प्रर्धाको रुपमा रहेको क्याम्पसका सूचिमा यो क्याम्पस ३८ औ स्थानमा परेको छ भने क्याम्पस क्यूएए प्रक्रियामा अगाडी बढि रहेको छ । यो प्रकृयालाई छिटै टुङगोमा पुर्याउने गरी काम अगाडी बढिरहेको क्याम्पस प्रमुख ज्ञवालीले बताउनु भयो ।
मध्येपश्चिमकै आंगिक क्याम्पसको रुपमा आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्दै गइरहेको क्याम्पसमा शिक्षा, र व्यवस्थापन संकायमा स्नातकोत्तरतहसम्म अध्यापन गर्दै आएको छ । क्याम्पस सभामा पूर्व अध्यक्षहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संचालक समिति सदस्य, प्राध्यापापक तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ७ : १७ बजे