६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मालारानी गाउँपालिकाका वडा अध्यक्ष अझै भेटिएनन, खोजी कार्य जारी



अर्घाखाँची ।
हराएको १६ दिनसम्म पनि अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) फेला पर्नु भएको छैन ।
उहाँको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ति बगैचामा रहेको सीसीटीभी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेरिएको र अन्य संयन्त्रसमेत प्रयोग गरेर खोजी भैरहेको तर पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो ।
पुस २ गते मालारानी –२, डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भि्सिङ गर्न भन्दै सन्धिखर्क जानुभएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क्विहीन हुनुभएको हो गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ जानुभयो भन्ने बारेमा थाहा हुन नसकेको र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
भुसाल बेपत्ता भएको कुरा अर्को ३ गते नै प्रहरी, प्रशासनमा जानकारी गराई खोजबिन गरेको र नभेटिएकोले खोजी गरिदिनुहुन उहाँका दाजु जीवलाल भुसालले आग्रह गरेका छन् । निज विनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बस चालकमार्फत घरमा ल्याइसकिएको छ ।
सन्धिखर्कदेखि गोरुसिंगेसम्मको झण्डै ३ घण्टाको समयमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र श्रीमतीसमेतले फोन गर्दासम्म वडाध्यक्ष विनोदले फोन नउठाएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो ।
वडा सचिव गंगाराम चौधरी बिदापछि घरबाट फर्केर सन्धिखर्क आएपछि मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको र पुस ४ गते पुनः गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको स्वीकृतिबिना नै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर घरतर्फ लागेकोले सचिव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायव उपरीक्षक नवराज मल्लले सोधपुछ गरेका छन । घटनामा सचिवको कुनै संलग्नता नदेखिएकोे प्रहरीको भनाइ छ ।
वडाध्यक्ष भुसालको खोजीका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरिएको र अनुसन्धान समेत भैरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । भुसाल तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडाध्यक्षमा निर्वा्चित हुनु भएको थियो । –प्रेमनारायण आचार्यबाट

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ३४ बजे