६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कांग्रेस र फोरमद्धारा प्रदेश ५ को राजधानी रुपन्देही राख्ने घोषणा, कपिलवस्तु किन भएन ?



बुटवल ।
प्रदेश ५ को राजधानीको विषय पेचिलो बन्दै गैरहेको बेला प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्ता समर्थक दल संघीय समाजवादी फोरमले ५ नम्बर प्रदेशको स्थायी राजधानी रुपन्देही र नाम लुम्बिनी राख्ने घोषणा गरेका छन । यद्यपि यी दलबाट औपचारिक घोषणा नभए पनि जिम्मेवार नेताबाट यस्तो घोषणा आएको हो । बुटवलमा रिपोर्टस क्लबले गरेको साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले रुपन्देहीमै राजधानी बनाउने विषय कांग्रेसको आधिकारिक धारणा रहेको बताउनुभयो ।
’कांग्रेसले अस्थायी मुकाम पनि बुटवलमै हुनुपर्छ भनेको थियो, स्थायी पनि यही नै हुनुपर्छ, उनले भने, ’यो नै पार्टीको निर्णय हो ।’ उहाँले कांग्रेस पहिलेदेखि नै रुपन्देही राजधानीको पक्षमा रहेको बताउनुभयो । प्रदेश सभामा कांग्रेसका १९ सदस्य रहेका छन् ।
प्रदेश सभामा गठित विशेष समितिले जनतामाझ सुझाव संकलन गर्ने तयारी गरिरहेका बेला दुई दलले राजधानीको विषयमा बोल्नुभएको थियो । चुनावका बेला आ–आफ्नो क्षेत्रमा राजधानी बनाउने एजेण्डा सबै सांसदको भए पनि हालकै स्थानलाई स्थायी बनाउनुपर्ने निर्णय कांग्रेसको रहेको शर्माले बताउनुभयो ।
संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानी र नामको विषयमा फोरमले निर्णय गरिसकेको बताउनुभएको छ । ’रुपन्देहीमा राजधानी र लुम्बिनी नाम हुनुपर्छ भन्ने निर्णय हाम्रो पार्टीले गरिसकेको छ’, उहाले भन्नुभयो ।
उहाले भन्सार, बिमानस्थल, सडक सबै भएको कारण राजधानीका लागि भौतिक पूर्वाधार रुपन्देहीमै तयार रहेको बताउनुभयो । आर्थिक कारोबार गर्न पायक पर्ने भएकाले रुपन्देहीको विकल्प अरु हुन नसक्ने उहाले बताउनुभयो । प्रदेश सभामा रहेका पाँच दलमध्ये राजपा र जनमोर्चाका एक÷एक सदस्य छन् । सत्तारुढ दल नेकपाका ६१ सदस्य छन् । नेकपाभित्र राजधानी विषयबारे विभाजन रहेको छ ।
यता प्रदेश ५ को राजधानीको विषयमा नेकपाका सांसद भने मौन जस्तै छन । सत्तारुढ दल समेत रहेको नेकपा भित्र राजधानीको विषय झनै पेचिलो बन्दै गएको छ । नेकपा भित्र राजधानी दाङ हुने कि रुपन्देही भन्नेमा विवाद छ । यसैमा राजधानीको लागि उत्तम ठाउँ कपिलवस्तु पनि भएको कतिपय सासंसद तर्क छ । यता कपिलवस्तुका प्रदेश सांसदले कपिलवस्तुमा राजधानी बनाउनुपर्ने लविङ गरिरहेका छन । तर, कांग्रेस र फोरमका सांसदले राजधानी रुपन्देही बनाउने निर्णय गरिसकेको भए कपिलवस्तुमा राजधानी हुने कुरा सपना हुन सक्ने छ ।

प्रकाशित मिति : १७ पुस २०७५ मंगलबार ००:००  १२ : १८ बजे