७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

चिसोबाट जोगिनका लागि अपनाउनुस यी उपाय



एजेन्सी ।
विस्तारै मौसम बदली भएसंगै चिसोको अनुभुति सुरु हुन थालेको छ । गर्मी महिना सकिन थाले संगै क्रमिक रूपमा जाडोले छोप्न थालेको हो । बिशेषतह गर्मी समयमा भन्दा जाडो मौसममा बालबालिका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा बिभिन्न समस्याहरू देखा पर्ने गर्छ । चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ । नबजात शिशु बालबालीकादेखि बृद्ध सम्मले जाडोमा बिशेष साबधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाब छ ।
भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेश हुन्छ । जाडोका बेला देखिने समस्याहरूमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्ने गर्छन । मुटुका विरामीले पनि जाडोमा आफूलाई बढी ख्याल राख्नुपर्छ । वालवालिका र वृद्धवृद्धाहरूलाई पनि जाडो मौसम कष्टदायक हुन्छ ।
जाडोका कारण मानिसहरू घरभित्रै पसल, कार्यालय समयमा कार्यालयमै, महल आदि स्थानमा समय बिताउने हुनाले रुघाखोकीजस्ता सरुवा रोग चाँडो संक्रमणका रूपमा फैलिने गर्दछ । जाडो महिनामा मानिसको प्रतिरक्षा प्रणाली जोखिममा हुन्छ ।
जाडो महिनामा शरीरका रक्तनली साँघुरिने हुनाले मुटुरोगको जोखिम बढ्ने गर्दछ । यसबाहेक छालाका समस्या, हाइपरथर्मिया जस्ता समस्या पनि देखिन सक्छन। चिसोका कारण शरीरको तापक्रम ९५ डिग्री फरेनहाइटभन्दा कम हुनु हाइपरथर्मिया हो । शरीरलाई पर्याप्त तातो बनाउन आवश्यक उर्जा उत्पन्न हुन नसक्दा यस्तो रोग लाग्ने चिकीत्सक बताउँछन ।
जाडोबाट बच्नका लागी शरीरलाई सदैब स्वस्थ र तन्दुरुस्त राख्नुपर्ने वरिष्ठ फिजिसियन दिर्घसिंह बमले जानकारी दिनुभयो । डा. मीनेशजंग सिजापतिले भने,– ‘चिसो मौसममा रुघा खोकी लाग्छ र जसका कारण भाइरस हुन्छ । त्यसकारण तातो पानी पिउने, तातो झोल पिउने र चिसोबाट बच्नुपर्छ । त्यसैगरी तराईमा सीतलहरबाट बच्न न्यानो गरेर बस्नुपर्छ । सडकमा हिँड्दा पनि भौगोलिक परिस्थिति अनुसार कपडा लगाउनुपर्छ ।’
दम भएको मानिसहरूलाई चिसोले चाडैं छुन्छ । त्यसैले आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हुन्छ । त्यसमा पनि बाक्लो लुगाहरू लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ ।
दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रूप लिन सक्छ । दम भएको मानिसले धुंवा कम भएको ठाउँमा आगो ताप्दा फरक पर्दैन । धुवायुक्त आगोका कारण सामान्य मानिसहरूलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ ।
हामीले केही डाक्टरहरूलाई जाडोबाट बच्नका लागि के–के उपाय अपनाउनुपर्छ भनेर जिज्ञासा राखेका छौं । उनीहरूले दिएको निष्कर्षलाई यहाँ प्रस्तुत गरीएको छ ।
पर्याप्त न्यानो कपडा लगाउनुपर्छ । टोपी, मखलर, मोजा र पञ्जा लगाउन बिर्सीनुहुदैंन । बिशेषगरी बाहिर निस्किदा चिसोबाट सचेत रहनुपर्छ । र, आफ्नो शरीरलाई सन्तुलनमा राख्नुपर्छ ।
मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम गर्नु हुदैंन । बिहान बेलुकि अलिक बढि जाडो हुने भएकाले बिहान बेलुका घरभित्रै बस्नुपर्छ ।
चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । नियमित साबुन पानीले हात धुने र शरीरलाई फुर्तिलो राख्न बेला बेलामा नुहाउनुपर्छ । तातो पानीभन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।
शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरू लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आबश्यक छ। चिसोले छालाको ओसलाई सोसेर सुख्खा बनाइदिन्छ ।
बिहान उठ्ने बित्तीकै पर्याप्त शारीरिक अभ्यास गर्नुपर्छ। पर्याप्त पानी पिउन आबश्यक छ । चिसो मौसममा हामी पानी कम पिउने गर्दछौ” । जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छा ।
स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफूल तथा तरकारी, भिटामिन सी र जिंकजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
कम्तीमा ६ घण्टा सुत्नुपर्छ । नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ ।
जाडो मौसममा तनावका कारण रुघाखोकी जस्ता रोग लाग्ने सम्भावना बढ्ने अनुसन्धानहरूमा देखिएको छ । त्यसैले मानसिक स्वास्थ्यको ख्याल गर्नका लागी योगाभ्यास, शारीरिक कसरत, ध्यानजस्ता कुराहरूले तनावमुक्त हुन सहयोग पुर्याउन सक्छ ।
जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ । तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ । चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ। तौल नियन्त्रण गर्नुहोस ।
जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ । संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आबश्यक छ ।
सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम उच्च मात्रामा हुन्छ । बालकहरूमा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुदैन । बुढ्यौलीमा प्रतिरोधको क्षमता कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रूप लिनसक्ने खतरा पनि उत्तिकै रहन्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरिहाल्नुपर्छ । साना बच्चाहरूमा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ ।
दम भएको मानिसहरूलाई चिसोले चाडैं छुन्छ । त्यसैले आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हुन्छ । त्यसमा पनि बाक्लो लुगाहरू लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ । दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रूप लिन सक्छ । दम भएको मानिसले धुंवा कम भएको ठाउँमा आगो ताप्दा फरक पर्दैन । धुँवायुक्त आगोका कारण सामान्य मानिसहरूलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ ।
जाडोको समयमा युवा वर्गले ज्यादा स्मोकिङ गर्ने, मद्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरिरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ । स्मोकिङले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्नुहुदैन ।
जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ४ : ०७ बजे