५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कर्मचारीले समायोजन फाराम भर्न थाले



काठमाडौँ ।

कर्मचारीले सङ्घ, प्रदेश र स्थानीय तहमा जान समायोजन फाराम भर्न थालेका छन् । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा जानका लागि आवेदन आह्वान गरे पनि आजदेखि उनीहरुले समायोजनका लागि आजदेखि अनलाइन फाराम भर्न थालेका छन् ।

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले आजदेखि कर्मचारीले अनलाइनमार्फत कुन तहमा जाने भनेर रोज्न थालेका जानकारी गराउनुभयो । उहाँका अनुसार आज सङ्घमा ४३४, प्रदेशमा ४७३ र स्थानीय तहमा ४७१ जनाले समायोजनका लागि फाराम भरेका छन् । मन्त्रालयले पुस मसान्तसम्म तीनै तहमा समायोजन सक्ने गरी सरकारी सेवाका कर्मचारीका लागि समायोजन थालेको छ ।

अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्त भएर नयाँ सङ्गठन संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि २१ दिनसम्मको म्याद राखिएको छ । प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका सङ्गठित संस्थाका स्थायी कर्मचारीका लागि र साबिक जिविसको सेवामा स्थायी नियुक्त पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि १५ दिनसम्म आवेदन फाराम भर्न आह्वान गरिएको थियो ।

सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी समायोजन हुने छन् । कर्मचारीले अनलाइन फारम भरेपछि मन्त्रालयले अध्यादेशमा भएका व्यवस्था र माग गरेअनुसार समायोजनमा जाने कर्मचारीको नजिता प्रकाशित गरी सोही नतिजा बमोजिम समायोजन गरिनेछ । सरकारले यसअघि स्थानीय निकायमा स्थायी भएका कर्मचारीको स्थानीय तहमा समायोजन सकेर मन्त्रालयले सङ्घमा रहेका कर्मचारीलाई तीनै तहमा समायोजनको कार्य शुरु गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ४५ बजे