५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेसको आरोपः सरकारकै कारण मेलम्ची आयोजनाको ठेकेदार भाग्यो



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले कम्पनी सञ्चालन गर्न आएका प्रति गैरकानुनी ढंगले धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन ।
नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सरोकारवाला मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दावी गर्नुभयो । विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको भन्दै उहाँले सरकारलाई इमान्दारिता र पारदर्शिता देखाउन चुनौती दिनुभयो ।
मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भाग्नु र नयाँ कम्पनी खडा गरी तत्काल निर्माणको जिम्मा लगाउने तयारी पनि भैरहेको भन्दै उहाँले त्यस बारेको यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । उहाँले कालो सूचीमा परेको कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा दिने काम भएको भन्दै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का सम्झौता रद्द गरी स्वदेशी लगानीमा निर्माण गर्ने गरी काम अघि बढाउन माग गर्नुभयो ।
सत्तारुढ दलकै सांसदले पनि मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ७ : १४ बजे