५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जज सहित पारित



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।
स्थायी समितिका नेताहरुले राख्नु भएको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
मंसिर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसके , पार्टी एकीकरणको कामलाई अझै टुंगोमा र्पुयाउन नसकेको भन्दै पार्टी नेतृत्वले चर्को आलोचना गरेका थिए । सोही आलोचनाको विषयलाई समेत समेट्ने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्तभित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ८ सदस्यीय कार्य दल पनि बनाएको छ ।
कार्य दलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहनु भएको छ । कार्य दलले दिएको सुझावलाई स्थायी समितिले अनुमोदन गरेपछि पार्टी एकीकरणको कामलाई पूर्णता दिने निर्णय पनि गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ७ : ०६ बजे