५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुगर मिल नहुँदा उखु किसान मारमा, मौकाको चौका उठाउँदै सख्खर उद्योग



अराज सिंह बेल्वासे, चन्द्रौटा ।
लामो समय देखि कपिलवस्तुको पश्चिमी क्षेत्रमा सञ्चालित सुगर मिल अन्यन्त्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन । गत बर्षको उखु सिजनमा सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । यहाँका उखु किसान गत बर्ष देखि नै मारमा पर्दै आएका छन । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन । सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन । उखु बेच्ने यो सिजनमा सरकारले तोकेको मूल्य जिल्लाका उखु किसानले पाएका छैनन । सख्खर उद्योगले मनपरी मूल्य लिएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।
कपिलवस्तुमा रहेका करिव ३ सय सख्खर उद्योगले मनपरी ढङ्गवाट उखुको मुल्य दिएको संघका अध्यक्ष चौधरीले बताउनुभयो । “उखु खेतीबाटै बर्षेनी जिविकोपार्जन गर्दै आएका किसानहरु मिल बिस्थापित भएपछि समस्यामा परेका छन्, उहाँले भन्नुभयो, किसानको गुनासो सुन्ने निकाय कहाँ छ ?” सुगर मिल नहुँनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारले उखुको मुल्य प्रती क्विन्टल ५ सय १८ तोकेको छ । कपिलवस्तुका उखु कृषकले २ सय देखी ५ सय सम्ममा विक्री गर्दै आएका हुन । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले ४ सयमा प्रति क्विन्टल खरिद गरिरहेको छ । जिल्लामा यस्ता उद्योग झण्डै एक सय पचास रहेका छन् ।
उखु विक्री गर्न बजारको समस्या भएपछि केही किसानले सख्खर उद्योगमा भेली बनाउन दिएका छन भने कतिपय आफैले सख्खर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन । सरकारले मुल्य तोकेपनि व्यवहारमा लागु नहुने उखु किसान राम प्रकाश चौधरीले वताउनुभयो । उहाँले भन्नुभयो –“पहिला चिन मिल थियो र बेच्न सजिलो थियो अहिले उखु विक्रि नै हुँदैन कि भन्ने डरले जति पैसा दिएपनि सख्खरहरुलाई दिन वाध्य छौ” ।
कपिलवस्तुको पश्चिम–दक्षिण क्षेत्रमा सुख्खा क्षेत्र रहेको अधिकांश कृषकले उखु खेती हुदै आएको छ । जिल्लाको कृष्णनगर, महाराजगंज, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा व्यवसायिक उखु खेती गर्दै गरिदै आइएको हो ।

दर्ता नै छैनन सख्खर उद्योग

लाखौ करोडौको करोवार गर्ने गुड उद्योगहरु स्थानिय निकायमा दर्ता रहेको छैनन । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका करिव डेढ सय उद्योगहरु स्थानीय तहको कार्यलयमा दर्ता नभएको पाइएको छ । स्थानीय सरकारले आफ्नो क्षेत्र भित्र रहेको उद्योगहरुलाई व्यवस्थापन गर्ने जिम्मा भएपनि शिवराज नगरपालिकामा रहेका सख्खर उद्योगहरुको संख्या समेत नगरपालिकालाई जानकारी छैन ।
‘नगरभित्र रहेको उद्योगहरुलाई नगरपालिकामा दर्ता गराउन हामीले सुचना जारी गरेका छौ शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले भन्नुभयो, “शिवराज नगर भित्र रहेको सवै उद्योगहरु नगरपालिकामा दर्ता गराएर मात्रै संचालन गर्न प्रक्रिया थाल्छौ ।”
विजयनगर गाउँपालिकाले पनि सवै उद्योगहरुलाई दर्ताको लागि पत्र पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले वताउनुभयो । यस्तै जिल्लाका अन्य स्थानीय तहमा समेत सख्खर उद्योगहरु दर्ता नभएको पाइएको छ ।

प्रशासन मौन

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले उखु कृषकले कम मुल्यमा खरिद गरेका सख्खर उद्योगको बारेमा जानकारी दिए कारवाही गर्ने वताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले नेपाल सरकारले तोकेको उँखुको मुल्य कृषकले पाउनुपर्ने बताउनुहुन्छ ।
उखु किसानहरु आफै सजग भएर सरकारले तोकको रकम भन्दा नघटाएर उँखु वेच्नुपर्ने उहाले जनाउनुभयो । अर्यालले भन्नुभयो–“यदि कुनै उद्योगले कम मुल्यमा खरिद गरेको छ भने जानकारी दिनुस हामी कारवाही गर्छौ ।”

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ५७ बजे