५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नदीजन्य पदार्थको चोरी बढेको बढ्यै, स्थानीय तह र प्रशासन बीच कुरा बाझियो ! नियन्त्रण गर्ने कस्ले ?



मायादेवी अनलाइन, वाणगंगा ।
हाम्रो मिडिया सहयात्री रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले निरन्तर रुपमा नदीजन्य पदार्थको चोरी निकासी सम्बन्धि समाचार प्रशारण गरिरहेको छ । विहीबार विहान पनि रेडियोले यसैको फलोअप गरेको छ । समयमा ठेक्का नखुल्दा नदीजन्य पदार्थको हाहाकार चारैतिर मच्चिएको छ । यो आर्थिक बर्षको ६ महिना भैसक्दा पनि नदीजन्य पदार्थको ठेक्का नखुलेको हो । नदीजन्य पदार्थ नखुल्दा विकास निर्माणका काम प्राय ठप्प भएका छन । यसैको मौका उठाएर केही व्यक्ति भने मालामाल भएका छन ।
तर, यता स्थानीय प्रशासन र स्थानीय तह बीच नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणमा मत बाझाबाझ भएको छ । स्थानीय प्रशासनले नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्ने काम स्थानीय तह र जिल्ला समन्वय समितिको भएको बताउँदै आएको छ । तर प्रशासनको यस भनाईप्रति स्थानीय तह सहमत छैन । नदीजन्य पदार्थको चोरी निकासी राक्ने काम प्रहरी प्रशासनकै भएको स्थानीय तहको दाबी छ । प्रशासन र स्थानीय तह बीच यस बिषयमा मत बाझाबाझ भएकै बेला जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले नदीजन्य पदार्थको नियन्त्रण गर्ने जिम्मेवारी आफुहरुको नभएको बताउनुभएको छ । रेडियो मायादेवीको मूल खबरसंग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । रातको समयमा हुने चोरीमा आफूहरुले जोखिम मोल्न नसक्ने उहाको भनाई छ ।
यता नदीजन्य पदार्थ नखुल्दा विकास निर्माणका काम प्राय ठप्प भएको मौका उठाएर केही व्यक्ति भने मालामाल भएका छन । कपिलवस्तुको वाणगंगा नदीमा यस्तो अवसर प्राप्त भएको छ ।
बर्खा लागे संगै मंसिर पहिलो साता सम्म वाणगंगा नदीको चरम दोहन भैरहेको थियो । यसको चौतर्फि दबाब भएपछि तस्करहरु केही समय शिथिल थिए । तर आइतबाट रातीबाट फेरी वाणगंगा नदीको दोहन शुरु भएको छ । विशेष स्रोतका अनुसार आइतबार राती वाणगंगा नदीको तीन नाकाबाट नदीजन्य पदार्थको चोरी भएको रेडियो मायादेवीलाई जानकारी आएको छ ।
यसै बिषयमा रेडियोले बाणगंगा नगरपालिका र प्रहरी संग जवाफ मागेको थियो । रातभर नदीजन्य पदार्थ चोरी भईरहँदा नगरपालिकाले के हरेर बसेको छ भनेर बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालसंग प्रश्न सोधिएको छ । जवाफमा उपप्रमुख अर्यालले यो विषयमा आफुहरु गम्भिर रहेको बताउनुभयो । नगरपालिकाको एक्लो प्रयास चोरी नियन्त्रण गर्न नसकिने भन्दै प्रहरी प्रशासन पनि बढी चनाखो हुनुपर्ने बताउनुभयो । स्थानीय तहमा आफ्ना प्रहरी नभएको कारण खोलाको सुरक्षा दिन नगरपालिकाले नसक्ने उहाले प्रष्ट पार्नुभयो । प्रहरीको प्रयास बिना चोरी कम हुन नसक्ने उहाको दाबी छ । नगरपालिकाले चोरी निकासी क मगर्न पहल गरिरहेको उहाले बताउनुभयो ।
यता नगरपालिकाको जवाफपछि रेडियोले फेरी प्रहरीलाई पनि यस विषयमा ध्यानाकर्षण गराएको थियो । इलाका प्रहरी कार्यालय पिपरालाई यस बिषयमा ध्यानाकर्षण गराउँदा सबै रिपोर्ट जिल्लामा जाने हुँदा जिल्ला प्रहरी प्रवक्ताले यस बिषयमा सबै जानकारी दिने भने पछि बाणगंगाा नदी आसपासका क्षेत्रमा नदीजन्य पदार्थ चोरी निकासी किन मौलाएको छ भनी यो प्रश्न कपिलवस्तु प्रहरीका प्रहरी नायव उपरिक्षक एव्म प्रवक्ता रवि रावललाई सोधिएको थियो । यो प्रश्नको जावाफमा प्रहरी उपरिक्षक रावलले नदीजन्य पदार्थको नियन्त्रण गर्ने प्रमुख दायित्व स्थानीय तहको भएको बताउनुभयो । स्थानीय तहले चोरी निकासी बन्द गर्न नसके प्रहरीले साथ दिने स्पष्ट पार्दै प्रहरी सामु स्थानीय तहले सुरक्षाको काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  ३ : १९ बजे