५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्वास्थ्य क्षेत्रका कर्मचारी माथि किन जाइलागे प्रदेश सांसद यादव ? यस्तो छ कारण !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका ५ नम्बर प्रदेश सांसद सहसराम यादवले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कर्मचारी सरुवाको लिष्ट पठाएको खुलेको छ । स्वास्थ्य क्षेत्रका केही कर्मचारीले पार्टीको घोर विरोध गरेको र केही आफ्ना कर्मचारीलाई अपायकबाट पायक ठाउँमा ल्याउन भन्दै सांसद यादवले एक महिनाअघि २५ जना कर्मचारी सरुवाको लिष्ट तयार पारेका थिए । उक्त लिष्ट सहितको सिफारिश पत्र फेला पारेको छ ।
संघीय समाजवादी फोरम केन्द्रीय सदस्य तथा प्रदेश सांसद सहसराम यादवले पार्टीको विरोधी र सर्मथित स्वास्थ्य मातहतका कर्मचारीको सरुवा गर्न पार्टी अध्यक्ष तथा मन्त्री उपेन्द्र यादवलाई विवरणसहित पत्र पठाएका हुन । प्रदेश सांसदकै लेटर प्याडमा यादवले कुन तहको, कहाँ भएको र कहाँ पठाउने सबै खुलाएर पत्रमा हस्ताक्षर गरि सोमबार स्वास्थ्य मन्त्रीका स्वकीय सचिवलाई इमेल पठाएका थिए । यद्यपि सरुवा लिष्टको पत्रमा चलानी नम्बर र मिति भने उल्लेख गरिएको छैन ।
संघीय समाजवादी फोरमको घोर विरोधी भएको भन्दै तौलिहवा जिल्ला अस्पतालका मेसु डा.किशोर बन्जाडे, बुद्धभूमि–१० धनकौली स्वास्थ्य चौकी इन्चार्ज सिद्र्धाथकाजी बज्राचार्यलाई अति र्दुगममा सरुवा गर्न माग गरिएको छ । यसैगरी पार्टी निकटका दुर्गम तथा अपायक परेकाहरुलाई माग अनुसारका स्थान तोकेर विशेष प्राथमिकता भन्दै सरुवा गर्न सिफारिश गरिएको छ ।
पाल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची मात्र नभई इलामदेखि दाङ वा रुपन्देही सरुवा गर्न भन्दै कर्मचारी संकेत नम्बर सहित स्वास्थ्यमन्त्री यादवलाई सांसद सहसरामले पत्र पठाएका छन् । अर्घाखाँचीमा कार्यरत अवधेश गुप्ता र सुखदेव नाउँको कपिलवस्तु, नुवाकोटमा कार्यरत बसन्त अधिकारीको काठमाडौं, पाल्पामा कार्यरत अनमी दिपा थापा रुपन्देही, एचए बेगपाल कुर्मी र सरिता गुप्ता कपिलवस्तु तथा वृजेश यादव नवलपरासी सरुवा भइसकेका छन् । तनहुँ जनस्वास्थ्य शाखा अधिकृत अनिरुद्र श्रीवास्तवको सरुवा भइसके पनि हाल सरुवा बदर गरि त्यहीँ खटाइएको छ ।


यता पार्टीको घोर विरोधी भन्दै दुर्गममा सरुवा गर्न सिफारिशमा परेका तौलिहवा अस्पतालका डा.किशोर बन्जाडे मन्त्रालयले जता सरुवा गर्छ, त्यतै जाने बताउनु हुन्छ । उहाँले रेडियो मायादेवीसंग भन्नुभयो –‘मैले अस्पतालको स्तरोन्नती गरे, गुणस्तरीय सेवा दिए, तर राजनीति गरिँन, त्यसैले लिष्टमा परे ।
स्वास्थ्य क्षेत्रका कर्मचारीले पार्टीको विरोध गरेको भन्दै मन्त्रालय सामु पत्र पठाएका प्रदेश सासंद यादव संग रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले अन्तरवार्ता लिएको छ । कार्यक्रम समय संवाद मार्फत अन्तर्रवार्ता दिदै सांसद यादवले यस विषयमा अनविज्ञता प्रकट गर्नुभएको छ । यस विषय केन्द्रित नै अन्तरवार्तामा सांसद यादवले आफुले यस्तो गर्न नसक्ने तर केही स्वास्थ्य क्षेत्रका कर्मचारीको कार्यशैली माथि साथीहरुले गुनासो भने पटक पटक गर्दै आएको बताउनुभयो । सांसद यादव संगको विस्तृत कुराकानी मायादेवी अनलाइनको फेसबुक पेज मायादेवी अनलाइनमा छ । यो अन्तर्रवार्ता विहीबार राती १० बजेको संक्षिप्त खबर पछाडि प्रत्यक्ष सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  ३ : ०१ बजे