५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

शिक्षामा किन पर्छन अनियमितताका उजुरी धेरै ?



बुटवल ।
कपिलवस्तुको जिल्ला शिक्षा तथा समन्वय इकाइका शिक्षा अधिकारी सुरेन्द्र पराजुली गत ३२ असारमा २ लाख ८० हजार घूस रकमसहित पक्राउ परे ।
विद्यालय भवन बनाएबापत कार्यालयकै प्राविधिकबाट घूस रकम लिँदै गर्दा उनी अख्तियारको फन्दामा परेका थिए ।
भवन बनाएबापत कमिसन नदिएको झोंकमा उनले ती २ प्राविधिकको ९ महिनादेखिको तलब रोकेका थिए । तलब रोकिएपछि प्राविधिकले अख्तियार गुहारेर कमिसन दिन गए । त्यसै बेला अख्तियारले रंगेहात पक्राउ गरेको हो । गत साउन १ मा उनीविरुद्ध मुद्दा दर्ता गरी अख्तियारले कारबाही अगाडि बढायो । मुद्दा दर्तापछि उनी निलम्बनमा परेका छन ।
पछिल्लो समय शिक्षामा अनियमिमता भएका उजुरी बढेका बढ्यै छन । उजुरीमा शिक्षक सरुवामा लेनदेन, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति, भवन निर्माण, पुस्तकालय, व्यवस्थापन समिति छनोट, दिवा खाजालगायतमा भएको अनियमिमताका उजुरी धेरै छन् ।
प्रधानाध्यापकले गरेका चलखेल, शिक्षकको हाजिरी, विद्यालयको सम्पत्ति उपयोग, दाताको सहयोगलगायतमा भएका अनियमितताका उजुरी यसपछि छन । प्रदेश ५ का १० जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलमा मात्रै चालु आर्थिक वर्षको अघिल्लो चौमासिक अर्थात् कात्तिक मसान्तसम्म शिक्षा क्षेत्रमा भएका अनियमितताविरुद्ध २ सय ४३ मुद्दा दर्ता भएका छन ।
यीमध्ये ७२ वटा फस्र्योट भएका छन । जब कि गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका जम्मा ३ सय २१ वटा उजुरी मात्रै दर्ता भएका थिए । यसमध्ये १ सय ७८ वटा फस्र्योट भएका थिए ।
सूचना अधिकारी सुरेश भुसालले धेरैको चासो र सरोकारको क्षेत्रमै अनियमितता हुने भएकाले शिक्षा क्षेत्रका उजुरी धेरै आउने बताउनुभयो । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा व्यवस्थापन समिति गठन र तिनका क्रियाकलापमा भएको अनियमितताबारे धेरै उजुरी आएका छन ।
शिक्षक सरुवा तथा नियुक्तिमा भएको अनियमितताबारे पनि यिनै जिल्लाबाट उजुरी आएका छन । शिक्षाका अधिकांश उजुरी बेनामी आउने गरेका छन । उजुरीका रूपमा आएका धेरै घटना प्रमाण नहुँदा दर्ता नहुने अझ धेरै छन ।
अहिले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गएको छ । स्थानीय तहको जिम्मामा गएको विद्यालय क्षेत्रमा समेत धेरै अनियमितता भएका उजुरी आएका छन् । यसअघि जिल्ला शिक्षा कार्यालय जोडिएर आउने उजुरीमा यस वर्ष स्थानीय तह वा तिनका जनप्रतिनिधिसँग जोडिएका उजुरी धेरै आउने गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  २ : ४४ बजे