५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चन्द्रौटामा सिद्राको व्यापार फष्टायो



दीपा महत, कपिलवस्तु ।

जाडोयाम शुरु भए संगै चन्द्रौटामा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीहरुलाई सिद्रा बेच्न चटारो छ । १८ बर्ष देखि सिद्राको व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एक देखि डेढ क्यिुन्टल सिद्रा बेचिरहेको बताउनुभयो । असोज अन्तिम हप्ता देखि बढेको सिद्राको व्यापार फाल्गुण सम्म चल्ने अन्सारी बताउँनुहुन्छ । एक बर्षभरी आफुले ४० देखि ४५ क्यिुन्टल सम्म सिद्राको व्यापार गर्ने उहाँले जनाउनुभयो । ‘अरु सिजन भन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ उहाँ भन्नुहुन्छ, सिद्रा बेच्ने काम फाल्गुण सम्म चल्छ ।’
चन्द्रौटा बजार भित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्दै आएका छन । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ्, अर्घाखाँची, गुल्मि, पाल्पा देखि कोहलपुर सम्मबाट सेवाग्राही आउने गरेका छन् । जाडो मौसममा पहाडी जिल्लामा सिद्राको खपत बढी हुने व्यापारी बताउँछन । जाडो हटाउँन सिद्राको झोलले सहयोग गर्ने सेवाग्राहीको विश्वास छ । सिद्रा साना साना भुरा माछा मारेर बनाइने गरिन्छ । खाँदा माछाको स्वाद आउँने र जाडो भगाउने हुँदा यसको व्यापार फष्टाएको हो ।
रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ बाट सिद्रा लिन चन्द्रौटा बजार आएकि जमुना बुढाले पहाडमा सिद्राको महत्व बढि भएको कारण आफु सिद्रा किन्न आएको बताउनुभयो । अहिले देखि जाडो बढेकाले तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उहाँले बताउनुभयो । सुत्केरी महिला, बृद्धबृद्धा, बालबच्चालाई चिसोबाट बचाँउन सिद्राको झोल उत्तम हुने उहाँको विश्वास छ ।
दाङ राप्ति गाउँपालिका वडा नम्बर ९ कि पारु पुन सिद्रा किन्नको लागि आफु चन्द्रौटा बजार आएको बताउनुभयो । १० किलो सिद्रा किनेकि उनले हरेक बर्ष सिद्रा लिन आउने गरेको सुनाउनुभयो । आफुले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाड दिदीबहिनीलाई पाहुँरको रुपमा पठाइदिने बताउनुभयो । चन्द्रौटाको सिद्रा पहाडमा निकै चर्चा हुने गरेको छ । सिद्रा पकाएर खाँदा माछा र मासुको स्वाद पनि हुने र चिसो पनि हट्ने त्यसैले सिद्रा किनेकि हुँ उहाले भन्नुभयो ।
अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्नको लागि चन्द्रौटा झर्नुभयो । आफन्तको घरमा आएको बेला सिद्रा पाहुँरको रुपमा घरमा लैजान लागेको उहाले बताउनुभयो । घरमा बुवाले सिद्रा ल्याउन भनेको कारण आफुले सिद्रा किन्न आएको उहाले जनाउनुभयो । उहाले पनि ६ किलो सिद्रा किन्नुभएको थियो ।
चन्द्रौटा देखि २१ किलोमिटर भारतको बढनी बजार पर्ने भएको कारण यहाँका सिद्रा व्यापारीहरुले बर्षेनी लाखौको सिद्रा नेपाल आयात गर्ने गरेका छन । भारतको लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताउनुभयो । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउँने गरेका छन । तिनै भुरा माछा सुकाएर बनाइने परिकार सिद्रा हो ।
माछाका विभिन्न प्रजाती मध्ये जुँगे, झिंगो, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्ने गरेको व्यापारी बताउँछन । यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारि देखि ठुल्ठुला व्यापारी सम्म आउने गरेको व्यापारी बताउँछन । सिद्रा फुटकर रुपमा प्रतिकिलो रु. १ सय ५० देखि रु. ४ सय रुपैयामा बेचबिखन हुने गरेको छ । भारतबाट भन्सार गरि पशु क्वारेन्टाइनको अनुमती लिई सिद्रा बेच्ने गरेको व्यापारी बताउँछन ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  २ : ४९ बजे