५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

क्रिसमस डे आज, नेपालसहित विश्वभर मनाइँदै



कपिलवस्तु,
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू सौहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । नेपालमा पनि क्रिस्चियन समुदायलाई सरकारले सार्वजनिक विदा दिएको छ ।

क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सव आयोजना गरेको छ ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ ।

क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताउनुभएको छ ।

शुभकामनामार्फत प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताउनुभयो ।
विक्रम संवत् ०६२र६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ ।

प्रकाशित मिति : १० पुस २०७५ मंगलबार ००:००  १ : ३९ बजे