५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपालमा भूकम्प, इण्डोनेसियामा ठुलो ज्वालामुखी विष्फोट



काठमाण्डौँ ।
काठमाडौंसहित आसपासका जिल्लाहरूमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।परकम्पको धक्का करिब १२ सेकेण्डसम्म महसुस गरिएको थियो।भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो।

इन्डोनेसियामा भूक्म्प
सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा कम्तिमा ४३ जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
पानीमुनि पहिरो गएका कारण सुनामी आएको हो । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो।
सुनामीका कारण जाभा र सुमात्रा टापुमा रहेका आइल्याण्डका बासिन्दा प्रभावित भएको छन् । कम्तिमा ५८४ जना घाइते भएका छन् । धेरै मानिस अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएको विपद व्यवस्थापन एजेन्सीले उल्लेख गरेको छ ।

क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि पहिरो गएको हो । आज राति अबेर सुनामी गएको हो । यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो ।

अहिलेसम्म उद्धार तथा राहतकर्मी पुग्न नसकेको रोयटर्सले उल्लेख गरेको छ । स्थानीय अधिकारीले प्रभावितहरुलाई तत्कालका लागि प्रारम्भीक राहत दिइएको बताएका छन् ।तथ्यांक संकलन भइरहेकाले ज्यान गुमाउने, घाइते तथा भौतिक क्षतिको मात्रा बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ४ : ४८ बजे