५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते



काठमाडौँ ।
ललितपुरको लाकुरीभञ्ज्याङ्गमा रहेको प्रहरी प्रभागका शुक्रबार राति गोली चल्दा एक प्रहरी घाइते भएका छन् ।
गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए ।लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभावका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश तामाङ्गलाई भेट्न गएका श्रेष्ठको बायाँ गालामा गोली लागेको हो ।

शुक्रबार राति सवा ९ बजेतिर घटना भएको र लगत्तै श्रेष्ठलाई किस्ट अस्पतालमा ल्याएर उपचार गरी थप उपचारका लागि नेपाल प्रहरी अस्पताल लगिएकोमा अहिले उनको अवस्था खतरामुक्त रहेको एसपी खनालले बताए ।काठमाडौँको सामाखुशीमा रहेको विपद व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ र लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इन्चार्ज असई रमेश तामाङ्ग गाउँले साथीभाइ हुन् । रमेशलाई भेट्न रोशन शुक्रबार लाकुरीभञ्ज्याङ्ग गएका थिए । उनीहरु दुवै दोलखाका हुन् ।

नेपाल आइडलको फाइनल हेरेपछि राति सुत्ने तरखर हुँदै गर्दा असई तामाङ्गको पेस्तोल अनलोड गर्ने क्रममा पड्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता एसपी खनालले बताए । म्यागजिन अनलोड गर्ने क्रममा अचानक पड्किँदा श्रेष्ठको गालामा गोली लागेको हो ।
घटनाबारे थप अनुसन्धान गर्न सातदोबाटोका इन्चार्ज डिएसपी गौतम मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको एसपी खनालले जानकारी दिए । असई तामाङ्ग अहिले सातदोबाटोमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ६ : ५८ बजे