५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज किराँत समुदायको उधौली पर्व, नेवार समुदायमा योमरी पुन्ही र ज्यापू दिवसको रौनक



कपिलवस्तु ।
आज मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यस्तै काठमाडौं उपत्यका सहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा योमरी पुन्ही र ज्यापू दिवस पनि धुमधामले मनाउँदैछन् ।खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ ।उधौली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

यस्तै नेवार समूदायले योमह्री पूर्णिमा मनाउँदैछन् । काठमाडौं उपत्यकाको नेवार समुदायमा ४ सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास रही आएको छ । जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । यस्तै पहाडी समुदायले कुल पूजा र गोठ पूजा गर्ने प्रचलन छ ।यस्तै कपिलवस्तुमा रहेका नेवार समुदायले पनि आज योमरी पुन्ही र ज्यापू दिवस धुमधामका साथ मनाउँदै छन् ।
महत्व र कर्म ।
मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा९गोठधुप० गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ। कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ। नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ। लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्। गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको ुवर्तमनु गर्ने गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चडाउने र नेमानमा पूजा गर्ने गर्छन्।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  २ : ३२ बजे