५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रुपन्देही खुल्ला दिसामुक्त हुने ६३ औं जिल्ला, कहिले होला कपिलवस्तु ?



बुटवल, पुस ६  ।

रुपन्देही जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । देशका ७७ जिल्लामध्ये रुपन्देही खुल्ला दिसामुक्त हुने ६३ औं जिल्ला बनेको छ । प्रदेश पाँचमा पनि रुपन्देही खुल्ला दिसामुक्त हुने एघारौं जिल्ला बनेको छ । १२ वटा जिल्ला रहेको प्रदेश ५ मा कपिलवस्तु जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकि छ । प्रदेश ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।

हरेक हिसाबले अगाडि रहेको रुपन्देही जिल्ला सरसफाई तथा स्वच्छताको हिसाबमा भने पछाडि देखिएको छ । सन् २०२० मा नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य प्राप्तीको लागि अब १४ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकि छन् ।

रुपन्देहीमा २०६४ सालदेखि सरसफाई तथा स्वच्छता अभियान सञ्चालन भएता पनि ११ वर्षपछि बल्ल जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको हो । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा प्रदेश पांचका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीबाट जिल्ला खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभएको हो ।

२०६४ सालमा सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन हुँदा जिल्लामा रहेका १ लाख ३० हजार २ सय ३८ घरधुरीमध्ये ४० प्रतिशत मात्र (५८ हजार ७ सय २) घरमा शौचालय रहेका थिए । त्यसयता ३३ हजार बढि घर थप भई हाल रुपन्देहीमा १ लाख ६३ हजार ८ सय ३५ घरधुरी पुगेका छन् । २०६८ सालमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएपछि नयां निर्माण भएका घरसंगै १ लाख ५ हजार १ सय ३३ घरमा शौचालय निर्माण भएका हुन् ।

मन्त्री चौधरीले जिल्लाका सबै पालिकाका प्रमुुख, उपप्रमुख र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीसँग खुल्ला दिसामुक्त जिल्ला घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पत्र वाचन गराउनुभएको थियो ।

त्यसैगरी खानेपानी बिभाग मध्यमाञ्चल खानेपानी निर्देशनालयका महानिर्देशक नन्दलाल बञ्जाडेले जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मालाई खुल्ला दिसा मुक्त भएको राष्ट्रिय प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले नागरिकलाई चर्पीको नियमित प्रयोग र व्यवस्थापन गराउने तर्फ निरन्तरता दिने, जोखिमपूर्ण अवस्थामा साबुनपानीले हात धुने कार्यलाई निरन्तरता दिने, जिल्लाका सबै नागरिकलाई सुरक्षित पानी उपलब्ध गराउने, खानेपानी सुरक्षित गर्ने विधिको सचेतना अभिवृद्धि गर्ने, भान्छा र खानेकुरालाई सुरक्षित गर्ने बानीको विकास गर्ने, घरायसी तथा व्यक्तिगत सरसफाई, सार्वजनिक स्थानको सरसफाई, प्राकृतिक श्रोत साधनको संरक्षण र सरसफाई गर्ने र खुल्ला दिसामुक्तलाई दिगो रुपमा सफल पार्न स्वच्छता तथा सरसफाई कार्यलाई गाउंपालिका तथा नगरपालिकाको विशेष कार्यक्रमको रुपमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

सरसफाई अभियान सञ्चालन भएको तीन वर्ष पछि पहिलो पटक २०६७ माघ १५ गते साविकको शंकरनगर गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो भने सबैभन्दा पछि २०७४ चैत १९ गते लुम्बिनी सांस्कृतिक नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।

 

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  २ : ४२ बजे