५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

“टाइम कार्ड” ले दुर्घटनामा कमी आएको ट्राफिकको दाबी



सीताराम चौधरी, कपिलवस्तु ।
टिप्पर तथा लोकल बसमा ल्याएको “टाइम कार्ड” अवधारणाले सवारी दुर्घटनामा न्यूनीकरण आएको जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले दाबी गरेको छ ।
टाइम कार्ड लागू भएको महिना दिनमा एउटा मात्र सवारी दुर्घटना भएकाले अभियानमा सफलता पाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले दाबी गर्नुभएको हो । गत मंसिर ३ गतेदेखि टिप्परमा र मंसिर १० गतेदेखि लोकल बसमा टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरी निरीक्षक पन्तले बताउनुभयो । हालसम्म करीब २ हजार बढी सवारीलाई टाइम कार्ड वितरण गरिएको पन्तको भनाई छ । टाइम कार्ड लागू भएपछि जिल्लामा एउटा बस मात्र दुर्घटना भएको उहाँले बताउनुभयो । यसबाट ट्राफिक प्रहरीले ज्याएको अवधारणा उपलब्धीमूलक रहेको पन्तको दाबी छ ।
यसका अतिरिक्त ट्राफिक प्रहरी कपिलवस्तुले नाइट बस, ट्रक र प्राइभेट साना सवारी साधनलाई गत मंसिर २४ गतेदेखि ‘ड्राइभ स्लो’ स्टिकर वितरण गर्दै आएको छ । स्टिकरमा चन्द्रौटादेखि पिपरासम्म दुर्घटना सम्भावित क्षेत्र भएकाले सावधानी पूर्वक सवारी चलाउन अनुरोध गरिएको छ । पूर्व जाने सवारीलाई चन्द्रौटाबाट र पश्चिम जाने सवारीलाई पिपराबाट ‘सावधानी कार्ड’ वितरण गरिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो । प्रहरी निरीक्षक पन्तका अनुसार हालसम्म ५ हजार बढी सवारी साधनलाई सावधानी कार्ड वितरण गरिएको छ ।
दुर्घटना न्यूनीकरणमा थप सहयोग पुग्न लामो दूरीका सवारीलाई चेकिङ लिष्टको व्यवस्था गरेको छ । गोरुसिंगेबाट काठमाडौं र सर्लाही पूर्व जाने सवारी साधनलाई चेकिङ लिष्ट वितरण गर्ने व्यवस्था गरिएको प्रहरी प्रमुख पन्तले बताउनुभयो । २४० किलोमिटरभन्दा बढी दूरीका सवारीका लागि मात्र यस किसिमको अवधारणा ल्याएको उहाँको भनाई छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले २४० किलोमिटरसम्म एउटा चालक र त्योभन्दा बढी दूरीका सवारीमा अनिवार्य दुई जना चालक हुनुपर्ने नियम लागू गरेको छ । चेकिङ लिष्टमा सवारी चालकको नाम समेत उल्लेख गरिएको हुन्छ । काठमाडौं जाने सवारीले नागढुंगा र सर्लाही पूर्व जाने सवारीले सर्लाहीको बागमतीमा चेकिङ लिष्ट देखाउनुपर्ने व्यवस्था गरिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  २ : ३५ बजे