५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेसको विधान संशोधन प्रस्ताव भोलि पेस हुने



काठमाडौं ।

नेपाली कांग्रेस महासमितिको भोलिको बैठकमा विधान संशोधन प्रस्ताव पेस हुने भएको छ । विधानको मस्यौदामाथि मंगलबार सहमति जुटेपछि महासमिति बैठकमा विधान संशोधन मस्यौदा पेस गर्ने बाटो खुलेको हो।

बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मस्यौदा पेस गर्ने छन्। नेताहरुबीच सहमति जुट्न नसक्दा महासमिति बैठकमा पेस गर्ने विधानको टुंगो लाग्न सकेको थिएन।

नेताहरुबीच सहमति भएपछि ७१ पृष्ठको विधान प्रिन्टमा पठाइएको बताइएको छ। पूर्व र वर्तमान पदाधिकारीहरुबीच भएको सहमतिलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरी महासमिति बैठकमा पेस गरिने छ।

कोषाध्यक्ष बाहेक सबै निर्वा्चित हुने र केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने गरी सहमति जुटेको कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताए।

संशोधित विधानमा उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुई हुने गरी हुने व्यवस्था गरिएको छ। यसअघि निर्वा्चित हुने कोषाध्यक्षको व्यवस्थालाई मनोनित गर्ने प्रावधान राखिएको छ। प्रवक्तासहित कांग्रेसको पदाधिकारी संख्या अब ९ हुनेछ । संस्थापन पक्षको अडानले निर्वा्चित हुनुपर्ने पदाधिकारी संख्या बढाइएको हो।

विद्यमान विधानमा सभापति सहित एक महामन्त्री र एक कोषाध्यक्ष निर्वा्चित हुने व्यवस्था थियो ।

केन्द्रीय समितिमा सहमति जुटेको विधानमा सभापतिले २० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था गरिएको छ ।

यसका साथै दुई प्रकारको सदस्यता हुनेछ। नेपाली कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता हुने व्यवस्था गरिएको केन्द्रीय सदस्य थापाले बताए। नेपाली कांग्रेसको सदस्यता साधारण प्रकृतिको सदस्यता हो भने क्रियाशील सदस्यताका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

वर्तमान विधानमा सभापतिले एक उपसभापति, एक महामन्त्री, एक सह महामन्त्री र एक प्रवक्ता मनोनित गर्न पाउने व्यवस्था  छ । जारी महासमिति बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७५ बुधबार ००:००  ११ : ०३ बजे