५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कावासोती–३ लाई प्रथम मेयर कपको उपाधि



कावासोती ।

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले कावासोती नगरपालिकामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि कावासोती–३ ले प्राप्त गरेको छ ।

कावासोती नगरपालिका–३ र ४ बीच भएको अन्तिम खेलमा कावासोती–३ दुई÷एक गोल अन्तरले विजयी हुँदै उपाधि आफ्नो पक्षमा पारेको हो । कावासोती–३ को जीतका लागि जर्सी नं ७ का प्रकाश क्षेत्रीले खेलको ४५औँ मिनेटमा एक गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं २२ का उपेन्द्र सारु मगरले ६५ औँ मिनेटमा गरेका थिए ।

दोस्रो हाफको ६६औँ मिनेटमा कावासोती चारका जर्सी नं १२ का खेलाडी प्रकाश महतोले आफ्नो टोलीका तर्फबाट एक गोल गरे थिए । यसपछि थप गोल नभएपछि नतिजा कावासोती–३ को पक्षमा गएको हो । विजेता बनेको कावासोती–३ ले रु ७५ हजारसहित शिल्ड प्राप्त गरेको छ । उपविजेता कावासोती–४ ले रु ४० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता र उपविजेतालाई गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले पुरस्कार प्रदान गर्दै नवलपरासी जिल्ला राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने जिल्ला भएको बताउनुभयो ।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले खेल, खेलाडी र युवालाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति रहेको भन्दै आगामी दिनमा अझै परिष्कृत रुपमा विभिन्न खेल प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । प्रतियोगितामा नगरपालिकाका १७ वटै वडाको सहभागिता थियो । रासस

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  २ : ३५ बजे