५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दशौं कपिलवस्तु महोत्सवको औपचारिक समापन



मायादेवी अनलाइन, वाणगंगा ।
पश्चिम नेपालको चर्चित महोत्सवको रुपमा चिनिने दशौंक कपिलवस्तु महोत्सवको आइतबार भव्य समारोहका बीच समापन भएको छ । मंसिर १८ गते मंगलबार देखि शुरु भएको महोत्सवको आइतबार विधिवत रुपमा समापन भएको हो । १३ दिन सम्म जिल्लाको जीतपुर चारनम्बर बुद्धरंगशालामा सञ्चालन भएको महोत्सवमा हजारौं दर्शकले अवलोकन गरेका छन भने करोडौंको कारोबार भएको छ ।
विगतका बर्षहरुमा भन्दा फरक तरिकाबाट सञ्चालन भएको महोत्सवले धेरै दर्शकको ध्यान खिच्न सफल भएको थियो । अत्याधुनिक प्रविधिको प्रयोग, आधुनिक कृषियन्त्रको प्रर्दशनी र पर्यटन प्रर्वधनका प्याकेजले महोत्सवमा दर्शकको ध्यान खिचेको थियो ।
महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेको महोत्सवका संयोजक उमानाथ पौडेलले जानकारी दिनुभयो । झण्डै १० करोडको आर्थिक कारोबार भएको पौडेलले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको महोत्सवको आइतबार समापन कृषि तथा पशपंक्षी विकास मन्त्री चक्रपाणी खानलले गर्नुभएको हो ।
कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहेका कारण आइतबार महोत्सवको अन्तिम दिन सम्म पनि दर्शकले भरपुर साथ दिएका छन ।
त्यस्तै महोत्सव स्थल भित्र रहेको सचिवालय र बुद्धको मूर्तिमा फोटो खिचाउने दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवमा आउने दर्शकहरुले बुद्धको मुर्ति अघि सेल्फी खिचेर फोटो आफ्नो फेसबुकमा राख्ने होड नै चलेको छ ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  १ : ०७ बजे